प्रतिनिधिसभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग सहित १४६ सांसद सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्ती नियुक्तिको माग सहित १४६ जना सांसदले आज सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

विपक्षी गठनबन्धनमा रहेका १४६ सांसद सर्वोच्च पुगेर यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसामु पेश गरिएको हस्ताक्षरको आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन्।

रिटमा नेपालको संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा राष्ट्रपतिद्वारा दुबैको दाबी नपुग्ने भनी प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेकोलाई असंवैधानिक र गैरकानुनी घोषित गर्न गर्न माग गरिएको छ ।

निवेदनमा संविधानको धारा ७६ (५) बमोजिम त्यसरी नियुक्त हुने प्रधानमन्त्रीलाई समर्थन गरेको आधारमा प्रतिनिधि सभा सदस्यलाई कारबाही नगर्न माग समेत गरिएको छ।

समर्थन गर्ने सांसदलाई दल त्याग गरेको भनी राष्ट्रपति कार्यालयसमेतका नाममा परमादेश वा पूर्जा जारी गरी संवैधानिक हकको संरक्षण गरी पाउन निवेदनमा माग गरिएको छ।

Comments
Loading...