पोखराको हेमजामा खुल्यो खाद्य बैँकको प्रदेशस्तरीय सम्पर्क कार्यालय

हिमाली आवाज । विषादी रहित खाद्यान्न उपभोक्ताको भान्छामा पु¥याउने लक्ष्यका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका वडा नं २५ मा प्रदेशस्तरीय सम्पर्क कार्यालय स्थापना गरेको छ ।हेमजाको मिलनचोकस्थित तिमिल्सिना कम्प्लेक्समा बैँकले आफ्नो शाखा कार्यालय स्थापना गरेको हो ।

हेमजामा ३५ रोपनी जग्गा भाडामा लिएर पाइलट प्रोजेक्ट शुरु गर्न लागिएको र ३०० रोपनी जग्गा किसानसँग लिएर सहकार्य गरिने गण्डकी प्रदेशका सम्पर्क व्यक्ति सम्झना तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय गंगाधर तिमिल्सिनाको अध्यक्षतामा ३५ रोपनी जमिनमा काम अघि बढेको छ । गण्डकी प्रदेशमा करिव ५०० जना बैँकको संस्थापक शेयर सदस्य बन्न इच्छुक रहेको बताइन्छ ।

“पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने नारा सहित नौ महिना अघि राजधानी काठमाडौँमा स्थापित बैंकले पहिलो चरणमा मुलुकका सात वटै प्रदेशमा कार्यालय स्थापना गरी उत्पादन शुरु गर्ने जनाएको छ ।

हाल उत्पादन वृद्धिका लागि जथाभावी प्रयोग गरिने विषादीको कारण मानव स्वास्थ्यमा पारेको असरलाई मध्ययनजर गरी बैँकले प्राङ्गारिक कृषि उत्पादनमात्र गरिने बैँकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताउनुभयो । उत्पादन, भण्डारण र बिक्री वितरणसंगै अनुसन्धानका काम पनि बैँकले गर्नेछ ।

अध्यक्ष उप्रेतीले भन्नुभयो,“खाद्य बैँकले सवैभन्दा पहिला अर्गानिक उत्पादनको काम गर्दछ । उत्पादित कृषि उपजलाई सुरक्षितसाथ बैँक आफैँले भण्डार गर्ने र विभिन्न डिजिटल माध्यमका साथै डिपो,पसल र मार्ट खोलेर आफैँले विक्री वितरणको काम पनि गर्दछ ।”

सरकारी बाँझो जग्गा, सामुदायिक वनका खाली जग्गा, गुठी तथा खोलाको छेउका बगर, विद्युत प्राधिकरणको लाईन मुनिका तथा विभिन्न सङ्घसंस्था, व्यक्तिका जग्गा भाडामा लिएर बैँकले आवश्यकता अनुसारका खाद्य बस्तु उत्पादन गर्ने लक्ष्य राखेको छ ।

Comments
Loading...