संसद विघटनको विरोधमा पशु प्राविधिकहरु, निर्णय खारेजीको माग

हिमाली आवाज । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर निर्वाचनको मिति घोषणाप्रति पशु प्राविधिकहरुले विरोध जनाएका छन् ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टाले आज एक विज्ञप्ति जारी गरी संविधान बमोजिम बैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुदै मध्यरातमा हठात प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान, संसद र लोकतन्त्रलाई गम्भिर संकटमा पारेको उल्लेख गरेको छ ।

नेल्टा अध्यक्ष जनकबहादुर रावल र महासचिव सुरेश श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा संविधान अनुकुलको निर्वाचन नभएर जनतालाई अस्पतालमा उपचार, अक्सिजन र बेड चाहिएको अवस्थामा महामारीको गम्भिर अवस्थाबाट गुज्रिरहेको समयमा जनताको उपचारमा ध्यान नदिएर मध्यरातमा निर्वाचनको सिफारिस गर्ने , बैकल्पिक सरकार बन्ने भरपर्दो आधार हुँदाहुँदै राष्ट्रपतिबाट चालिएको कदम नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्था प्रतिको प्रहार रहेको उल्लेख गरिएको छ ।

“सम्माननीय प्रधानमन्त्री ज्यूको सिफारिसमा सम्माननिय राष्ट्रपति ज्यूबाट चालिएको उक्त कदम संविधान र संसदिय लोकतान्त्रिक मान्यताको विरुद्धमा रहेको छ । संविधानको धारा ७६(३) अनुसार नियुक्त हुनु भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्त अनुसार ३० दिन भित्र विश्वासको मत लिनु पर्ने बाध्यत्मक अवस्थामा २०७८ साल जेष्ठ ०६ गते सम्माननिय राष्ट्रपति ज्यूबाट धारा ७६ को ५ अनुसार नयाँ प्रधानमन्त्रीको प्रकृया थालिनुलाई यस संघले असबैधानिक ठहर गरेको छ । संविधानको संरक्षक राष्ट्रपतिज्यूबाट प्रतिनिधिसभाको विघटन गरी यस्तो कोरोना महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा गरेको असंवैधानिक निर्णय प्रति आपत्ति प्रकट गर्दै सो असंवैधानिक निर्णय खारेज गर्न जोडदार माग गर्दछौँ ।” विज्ञप्तिमा भनिएको छ ।

नेल्टाले भेटेरिनरी सेवा अत्यावश्यक सेवाको रुपमा सुचिकृत सेवा भएकोले कोरोना महामारी र देश बन्दावन्दी अवस्थामा रहेको समयमा पनि नेपाली पशु पालक कृषकहरुलाई पशु स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्दै आईरहेका जनाउँदै पशु स्वास्थ्यकर्मीहरु कोरोना महामारीबाट संक्रमित हुने र संक्रमण भै मृत्यवरण गरिरहेकाले विषम् परिस्थितिमा संक्रमित पशु स्वास्थ्यकर्मीहरुलाई सहज र सरल तरिकावाट निःशुल्क उपचारको व्यवस्था र संक्रमित भै मृत्यवरण गर्नुहुने पशु स्वावस्थ्यकर्मीहरुको परिवारजन लाई उचित क्षतिपुर्तीको व्यवस्थाको माग गरेको छ ।

संविधानले प्रत्याभूत गरेको संविधान प्रदत्त स्वास्थ्य सम्बन्धि मौलिक हक बमोजिम महामारीको समयमा नेपाली जनतालाई खोप, अक्सिजन तथा अन्य सामग्रिहरु पर्याप्त मात्रामा उपलव्ध गराई जनताको जीवन रक्षा गर्नका लागि नेपाल सरकारसंग जोडदार माग समेत नेल्टाको छ ।

Comments
Loading...