कास्कीमा पुनः एक साता निषेधाज्ञा थपियो,जेठ २१ रातिसम्म लागू हुने

हिमाली आवाज । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न(चेन ब्रेक गर्न) जिल्ला प्रशासन कार्यालय कास्कीले लागू गरेको निषेधाज्ञा पुनः एक साता थप गरिएको छ ।

प्रशासनले आज साँझ सूचना जारी गरी जिल्लाभर लागू गरिएको निषेधाज्ञाको आदेश जेठ १४ गते राति १२ बजेदेखी जेठ २१ गते राति १२ बजेसम्म थप गरिएको जनाएको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापनका लागि यसअघिको आदेशलाई निरन्तरता दिँदै स्थितिलाई भयावह हुन नदिन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

यसअघि जिल्लामा पहिलोपटक वैशाख १५ देखी २१ गतेसम्म लगाइएको निषेधाज्ञा विभिन्न चरणमा थप हुँदै आएको छ । प्रशासनले निषेधाज्ञा अवधिमा विहानी तथा साँझको हिँडाईसमेत नगर्न र अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ ।
निषेधाज्ञाका अवधिमा अत्यावश्यक सेवामा प्रयोग हुने बाहेकका जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

यसबाहेक अन्य सभा,सम्मेलन,भेला गोष्टी, शैक्षिक संस्था, धार्मिकस्थलहरु,सिनेमा हल, पार्टी प्यालेस, रेष्टेरेन्ट लगायत समेत सञ्चालनमा बन्देज गरिएको छ ।

बैँक तथा वित्तिय संस्थाले अत्यावश्यक सेवाको लागि एक चौथाई कर्मचारीको उपस्थितिमा एक चौथाई शाखाबाट निक्षेप रु ५० हजारभन्दा बढीमात्र जम्मा गर्ने र चेक भुक्तानीको कार्य दिउँसो ११ बजेदेखी २ बजेसम्ममात्र गर्न आग्रह गरिएको छ ।

Comments
Loading...