गण्डकी प्रदेश सरकारको प्राथमिकता : अन्तर्राष्ट्रियस्तरका खेलकूद पूर्वाधार निर्माण

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले खेलकूद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८÷०७९ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त आज प्रदेशसभामा प्रस्तुत गर्दै युवा तथा खेलकूदतर्फ खेलकूदको विकासका लागि अन्तर्राष्ट्रिय स्तरका खेलकूद पूर्वाधार निर्माणमा जोड दिइने बताउनुभयो ।

यसैगरी खेलकूदको विकासका लागि गण्डकी प्रदेश खेलकूद परिषद् र जिल्ला खेलकूद विकास समितिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सरकारको योजना छ । प्रदेश सरकारले प्रदेश खेलकूद परिषद् र ११ वटै जिल्लामा जिल्ला खेलकूद समितिका अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गरेको छ ।

गण्डकी प्रदेशमा यसअघि तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गत वर्ष कोरोनाका कारण आयोजना हुन नसकेकामा आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना सरकारको छ । राष्ट्रिय खेलकूदका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्र्षभित्रमा फुटबल रङ्गशाला सम्पन्न गर्ने योजना सङ्घ सरकारको बजेट कार्यक्रममा परेको थियो ।

प्रदेश सरकारले युवाको सीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याइने मन्त्री गुुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...