माछापुच्छ्रे गाउँपालिकालाई कोरोनासँग जुध्न भिजन लुम्बिनीको साथ

हिमाली आवाज । कोरोना कहरले नेपाल अहिले आक्रान्त छ । कोरोनाको दोस्रो भेरियन्ट रोकथामका लागि सम्पूर्ण देश बन्दाबन्दीमा छ । तरपनि संक्रमण रोकिएको छैन । पछिल्लो समय गाउँहरु पनि कोरोनाको चपेटामा छन् ।

कास्कीको माछापुच्छ«े गाउँपालिका पनि दोस्रो भेरियन्टको कोरोना संक्रमणसँग अजुधिरहेको छ । गत वर्ष कोरोनाको यस पालिकामा खासै प्रभाव नपरेपनि दोस्रो भेरियन्टको प्रभाव गाउँपालिकाभरी छ । गाउँपालिकाले आफ्नो शक्ति कोरोना नियन्त्रण र रोकथाममा लगाइरहँदा विभिन्न व्यक्ति तथा संस्थाबाट समेत सहयोग प्राप्त भइरहेको छ ।

यसैक्रममा माछापुच्छ्रेमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिले कोरोनासँग जुध्न गाउँपालिकालाई आज विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

भिजन लुम्बिनीले गाउँपालिकामा गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ र वडा नं १ मा विरेन्द्र गुरुङ र वडा नं २ मा विक्रम गुरुङलाई सर्जिकल मास्क, सेनिटाइजर,पिपिई, पल्स अक्सिमिटर,फेस सिल्ड, अक्सिजन मास्क,थर्ममिटर, बेड सिट,एक्जामनेशन ग्लोब लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सेती नदी जलविद्युत आयोजनाका आयोजना प्रमुख इन्जिीनियर लेखनाथ पाण्डे र बोर्ड अफ डाइरेक्टर बमबहादुर गुरुङले ती सामग्रीहरु प्रदान गर्नुभएको थियो । गाउँपालिका र वडा कार्यालयहरुलाई रु दुई लाख ५० हजार मुल्यका स्वास्थ्य सामग्री प्रदान गरिएको इन्जिीनियर पाण्डेले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

इन्जिनियर पाण्डेले भन्नुभयो,“हामी यहाँका जनताको सुःख दुःखमा सँधै जोडिन चाहन्छौँ । कोरोना कहरको अहिलेको विषम् अवस्थामा यहाँका स्वास्थ्यकर्मी र जनतालाई थोरै भएपनि सहयोग पुगोस् भनेर गाउँपालिका र वडा कार्यालयहरुलाई ती सामग्री सहयोग गरेका हौँ ।”

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त स्वास्थ्य सामग्रीको सही सदुपयोग गरिने र अग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पहिलो प्राथमिकतासाथ वितरण गरिने बताउनुभयो ।

माछापुच्छ«को वडा नं २ सार्दिखोला भराभरीमा भिजन लुम्बिनीले २५ मेगाबाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । भराभरीमा बाँध बाँधेर पानी लगेर चिन्तेबगरमाम विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने योजना छ ।

आयोजनाको सिभिलतर्फको हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको बताइन्छ । सो आयोजना रु पाँच अर्व लगानीमा निर्माण भइरहेको हो । अवको १५ महिनाभित्रमा आयोजना सम्पन्न हुने लक्ष्य राखिएको छ ।

Comments
Loading...