वडाध्यक्ष बास्तोलाको सरकारी सुविधा सामाजिक कार्यमा, अक्सिजन प्लान्ट राख्न एक लाख सहयोग

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले जनप्रतिनिधि भए बापत प्राप्त हुने  भत्ता लगायतका सुविधा सामाजिक कार्यमा खर्चिदै आउनुभएको छ ।

सोही क्रममा आज उहाँले बतास फाउण्डेसनले पश्चिमान्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागेको अक्सिजन प्लाण्टका लागि रु एक लाख एक हजार १०५ सहयोगको घोषणा गर्नुभएको छ ।वडा र महानगरको बजेटमा व्ययभार नपर्ने गरी उहाँले आफ्नै सुविधाबाट कटाएर रकम सहयोग गरेको बताउनुभयो ।

‘अक्सिजन नपाएर नागरिकहरु मर्नुपर्ने अवस्था छ । राज्य आफ्नो जिम्मेवारीबाट च्युत भैसकेको छ,’ उहाँले भन्नुभयो,‘निजी क्षेत्रले भएपनि पुण्यको काम गर्न लागेको सुन्दा खुशी लाग्यो । मलाई सरकारले दिने सुविधाबाट नागरिकको जीवन रक्षामा लगानी गरें ।’ महानगरका वडाध्यक्षले मासिक २७ हजार हाराहारी सुविधा पाउँछन् । त्यसबाट बास्तोलाले ४ नम्बर वडा स्तरीय कोभिड सहयोग समितिमा थप १५ हजार १ सय ५ सहयोग गर्नुभएको थियो ।

बतास फाउण्डेसनको संयोजनमा पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उच्च गतिको अक्सिजन उत्पादन प्लाण्ट जडान गर्न लागिएको छ । यसका लागि १२ करोड रुपैयाँ लाग्ने बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिनुभयो ।

Comments
Loading...