गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त, प्राप्त भएन विश्वासको मत

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ हुनुभएको छ । विश्वासको मत प्राप्त नभएपछि उहाँ पदमुक्त हुनुभएको छ ।

प्रदेशसभामा आज उहाँले विश्वासको मतका लागि प्रश्ताव पेश गर्नुभएकामा सो प्रश्ताव सभामा निर्णायार्थ पेश गर्दा प्रश्तावको पक्षमा २७ र विपक्षमा ३० मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नुभयो ।

गण्डकी प्रदेशसभामा कूल ६० सदस्य रहेकामा विश्वासको मतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्नेमा मुख्यमन्त्रीले विश्वास प्राप्त गर्न असमर्थ हुनुभएको हो ।

बैठकमा ५८ प्रदेशसभा सदस्य उपस्थित भएकामा मतदान प्रक्रियामा ५७ जना सहभागी हुनुभएको थियो भने एक जना तटस्थ रहनुभयो ।
मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित युवा तथा खेलकूद मन्त्री समेत रहनुभएका राजीव गुरुङ(दीपक मनाङे) मतदान प्रक्रियामा अनुपस्थित हुनुभयो ।

गत वैशाख २७ गते संसदमा सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गुरुङले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुरुप आफूलाई सभाको विश्वास छ भन्ने प्रश्ताव पेश गर्नुभएको थियो ।
मुख्यमन्त्री गुरुङलाई नेकपामा एमालेका २७ सांसदले मत दिनुभएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका १५,माओवादी केन्द्रका ११(सभामुख बाहेक), जनता समाजवादी पार्टीका दुई र राष्ट्रिय जनमोर्चाका दुई सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्नुभयो । जनमोर्चाका सदस्य कृष्ण थापा भने तटस्थ बस्नुभएको थियो ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ भएपछि अव संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था छ ।

संविधानको सो धारामा विश्वासको मत पाउन सक्ने दाबी पेश गरेका प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ । हाल विपक्षी गठबन्धनसँग ३० मत रहेको छ । विश्वासको मत दिन अनुपस्थित सांसद राजीव गुरुङले समर्थन गरेको खण्डमा गण्डकीमा विपक्षीको सरकार बन्ने निश्चित छ ।

प्रदेशसभाका कुनै पनि सदस्यले बहुमत जुटाउन नसके संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको मिति घोषणा हुने संवैधानिक व्यवस्था छ ।

Comments
Loading...