हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघले संक्रामक तथा सरुवा रोग अस्पताल तथा मातृशिशु अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोभिड–१९ को दोस्रो लहरबाट नागरिकलाई जोगाउने अभियानमा लागेका अस्पतालहरुमा स्वास्थ्य सामग्रीको अभाव नहोस् भनेर रु दुई लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष नारायण कोइरालाले बताउनुभयो ।
बिहीबार आयोजित समारोहमा मातृशिशु अस्पताललाई पीपीई, मास्क,पञ्जा, स्यानिटाइजर,फेससिल्डसहित एक लाख बराबरका सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

सो अवसरमा अध्यक्षसहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका निवर्तमान अध्यक्ष दामु अधिकारी, महासचिव सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्ष तथा संघमा गठित पोउवा संघ कोभिड भाइरस राहत संकलन उपसमिति संयोजक बलराम आचार्य,उपमहासचिव केशवबहादुर खत्री, कार्यसमिति सदस्य तथा स्वास्थ्य उपसमिति संयोजक भरत केसी, कार्य समिति सदस्य पवित्रा गुरुङ तथा कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थिति रहेको थियो ।
मातृशिशु मितेरी अस्पतालले बिहीबारबाटै २० बेडको कोभिड बिरामीहरुको उपचार थालेको छ । अस्पतालले हाल २० बेडमा कोभिडका बिरामीको उपचार थालेको छ । मातृशिशु अस्पतालले कोभिडवार्डमा महिलातथाबालबालिकालाई प्राथमिकता दिएपनि अन्य संक्रमितको पनि उपचार गरिने गण्डकीका सभासद तथा अस्पतालका परिकल्पनाकार कृष्ण थापाले बताउनुभयो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट पुष्कर पौडेलले कोभिडका बिरामीहरुलाई निःशुल्क पोषणयुक्त खानाको व्यवस्था गरिएको जानकारी दिनुभयो । कार्र्यक्रममा अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पुष्पराज तिमिल्सिना र जिल्ला समन्वय समितिका अध्यक्ष वैनबहादुर क्षेत्रीले पनि मन्तव्य व्यक्त गर्नुभयो ।
यता संघकाअध्यक्ष कोइरालासहितको प्रतिनिधिमण्डलले बिहीबार नै लेखनाथमा रहेको संक्रामकतथा सरुवा रोग अस्पताललाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।