गण्डकीका बहुमत सांसदद्धारा प्रदेश प्रमुखको कार्यालयमा धर्ना

हिमाली आवाज । प्रदेश प्रमुख सीता कुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि हिजो आह्वान गरेपछि हिजोनै दावी पेश गरेका गण्डकीका बहुमत प्रदेशसभा सदस्यले अहिले प्रदेश प्रमुखको कार्यालय अघि धर्ना दिएका छन् ।

बहुमतको हस्ताक्षर सहितको आफूहरुको दावी पेश भएको २४ घण्टा व्यतित हुँदा  समेत मुख्यमन्त्री नियुक्त नगरेको र कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको नक्कली कागजपत्र पेश गरेर मुख्यमन्त्रीमा दावी गरेको भन्दै उनीहरुले विरोध गरेका छन् । प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि आज दिउँसो ३ बजेसम्मको समय दिनुभएको थियो ।

नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका ३१ सांसदनै अहिले प्रदेश प्रमुखकको कार्यालय अगाडि सडकमा धर्ना बसेका छन् ।

विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा प्रश्तावित कृष्णचन्द्र नेपालीले प्रदेशमा पनि केन्द्रमा जस्तै षड्यन्त्रको तानाबाना बुनिएको बताउँदै बहुमतको कदर गर्न माग गर्नुभयो ।विपक्षी गठबन्धनका अन्य नेताहरुले बहुमतलाई नमानेर प्रदेश प्रमुखले संविधान च्यात्ने काम गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।

कामचलाउ भइसकेका मुख्यमन्त्री गुरुङले जसपाको प्रदेश कमिटी र पदमुक्त भइसक्नुभएका जनमोर्चाका सांसद कृष्ण थापाको पत्र सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ । गण्डकी प्रदेशमा पनि सत्तारुढ दलबाट केन्द्रमा जस्तै नयाँ सरकार गठनमा विवाद देखाएर प्रदेशसभा विघटनको तयारी गरिएको भन्दै विपक्षीहरु सशंकित बनेका छन् ।

Comments
Loading...