पहिरोका कारण पोखरा–बाग्लुङ(मध्यपहाडी)राजमार्ग अवरुद्ध

हिमाली आवाज । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बाग्लुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो ।

निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने तयारी छ ।

यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्ध भएको छ । जलजला गाउँपालिका–८ नाङ्लीवाङको फर्से, वडा नं ७ को केराबारी र वडा नं ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिनुभयो ।

Comments
Loading...