कास्कीको मादीमा बाढीले चार जलविद्युत आयोजनामा करोडौँको नोक्सानी

हिमाली आवाज । केही दिनदेखीको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा चार वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

मादीको वडा नं १ र २ स्थित नदी किनारमा निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत आयोजनामा गएरातिको बाढीले ठूलो क्षति गरेको हो ।बाढीबाट ४४ मेगावाट क्षमताको निर्माणाधीन सुपर मादी जलविद्युत आयोजनामा सबैभन्दा बढी क्षति पुगेको र सञ्चालनमा रहेका अन्य तीन आयोजनामा आंशिक क्षति पुगेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजना सम्पन्न भएर हाल सञ्चालनमा रहेका १० मेगावाटको सिक्लेस हाइड्रो पावर १२ मेगावाट क्षमताको हिमालयन हाइड्रो(नार्माजुङ) र २५ मेगावाट क्षमताको अपर मादीमा क्षति पुग्दा विद्युत उत्पादन अहिले बन्द भएको छ ।

अपरमादीको ड्याम पुरिएको र विद्यृत गृहमा बाढीले क्षति पु¥याएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पहिराले सिक्लेस हाइडो«को प्रशारण लाइन बगाएको छ भने विद्युतगृह पनि जोखिममा रहेको बताइन्छ ।

आगामी वर्ष विद्युत उत्पादन गर्ने लक्ष्य सहित काम भइरहेको सुपर मादी आयोजना बाढीले सबैभन्दा बढी प्रभावित बनेको छ । आयोजनामा काम गर्ने १७० जना मजदुरलाई भने स्थानीयवासी, नेपाली सेना लगायतको पहलमा आज विहान उद्धार गरी विद्यालय लगायतका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइन्छ ।

रु सात अर्व ५० करोड लगानीमा बन्दै गरेको सो आयोजनामा बाढीबाट रु एक अर्व भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको आयोजनाका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुँगानाले बताउनुभयो ।

उहाँका अनुसार इलेक्ट्रोमेकानिकलतर्फ रु ३० करोड, हाइड्रो मेकानिकल रु १२ देखी १५ करोड, सिभिल कन्ट्रयाक्टरको निर्माण सामग्री, डन्डी, फलाम सहित रु २० करोड, प्लान्ट र उपकरणमा रु २० करोड र सिभिल संरचनामा रु २० करोड गरी रु एक अर्व हाराहारीमा क्षति पुगेको छ ।
आयोजनाको सुरुङ बाहेक बाँध(ड्याम), विद्युत गृह, हाइड्रो मेकानिकल(एचएम) र अन्य सिभिल संरचनाहरु बाढीले बगाएको छ ।

यसैगरी आयोजनास्थलमा रहेका चार वटा एक्साभेटर, चारवटा टिप्पर, दुईवटा ट्रान्जिट मिस्कर, छ वटा कम्प्रेसर, अन्दाजी ४५० टन डण्डी र १० हजार बोरा सिमेन्ट बगाएको आयोजनाले जनाएको छ ।

“हिजो रातिको बाढीले आयोजनामा ठूलो वितण्डा मच्चाएको छ । मानविय क्षति हुनबाट रोक्न सफल भएपनि हेडवक्र्स र पावर हाउस पूर्णत नष्ट भयो ।”अध्यक्ष ढुँगानाले भन्नुभयो,“मानविय क्षति रोक्न सफल भएपनि करोडौँको भौतिक क्षति आयोजनाको भएको छ । ”

हाल आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएकामा बाढीका कारणले पुगेको क्षतिबाट आयोजना थप एक वर्ष लम्बिने र लागत बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

Comments
Loading...