गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई सदनमा विश्वासको मत प्राप्त

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गर्नुभएको छ ।

मुख्यमन्त्रीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभा समक्ष राख्नुभएको प्रश्ताव बहुमतले पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नुभयो । प्रश्तावको पक्षमा पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त खसेको थियो ।

मुख्यमन्त्रीलाई उहाँको दल नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा दुई÷दुई प्रदेशसभा सदस्य तथा स्वतन्त्र सदस्य राजीव गुरुङले समर्थन गर्नुभएको थियो ।

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का २७ प्रदेशसभा सदस्यहरुले विश्वासको मतको विपक्षमा मतदान गर्नुभयो ।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपालीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मत लिनुभएको हो ।

 

Comments
Loading...