मादीको बाढी प्रभावित क्षेत्रमा मन्त्री अधिकारी,विस्थापितलाई पुनःबासको प्रतिवद्धता

हिमाली आवाज । गण्डकी प्रदेशका मन्त्री मधुमाया अधिकारीले आइतबार कास्कीको मादी गाउँपालिकाको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

नेपाली काँग्रेस र माओवादी केन्द्रले शनिबार बाढी पीडितलाई राहत,पुनःबास र प्रभावित क्षेत्रमा राहत प्याकेजको माग सहित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ध्यानाकर्षण गराएको भोलिपल्ट मन्त्री अधिकारी सहितको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सोँधा गाउँको निरीक्षणमा पुगेको हो ।

सो

अवसरमा मन्त्री अधिकारीले सोँधाका विस्थापित परिवारसँग भेट गरी प्राकृतिक विपत्तिबाट दुःखमा परेका जनताको साथमा प्रदेश सरकार रहेको बताउनुभयो । उहाँले क्षतिको यकिन विवरण प्राप्त भएपछि सरकारले पीडितको पुनःबास लगायतका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“यहाँको वस्तुस्थिति अध्ययन र वास्तविक रिपोर्ट मन्त्रालयमा पुगेपछि पीडित जनताको माग अनुसारका कार्यक्रम के ल्याउने भनेर निर्णय गछौँ ।”मन्त्री अधिकारीले भन्नुभयो ।

सोँधाका बाढीबाट विस्थापित सात र अन्य तीन गरी १० परिवार अहिले दुधपोखरी माविमा आश्रय लिएर बसेका छन् । बाढीका कारण उत्तरी मादीका अधिकाँस क्षेत्र प्रभावित बनेका छन् । पीडित परिवारले असार १ गतेदेखी विजुली बत्ति नहुँदा आफूहरु अन्धकारमा बस्नु परेको दुखेसो पोखे ।

मादी नदीमा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाका कारणबाट पनि बाढी पहिराको जोखिम बढेको दुधपोखरी टोल विकास समितिका अध्यक्ष टिकप्रसाद गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“नदीमा मापदण्ड विपरित नदीको धार परिर्वतन गर्ने गरी बनाइएका जलविद्युत आयोजनाका कारणले ठूलो क्षति भएको छ । जलविद्युत आयोजनाका वातावरणीय प्रभाव मुल्यांकन(इआइए) पनि सर्वसाधारणले हेर्न पाएका छैनन् । यसतर्फ प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।”

मन्त्री अधिकारी सहित पूर्वमन्त्री यज्ञबहादुर थापा, गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, कास्की काँग्रेस सभापति कृष्ण केसी, माओवादी केन्द्रका जिल्ला सचिव बखानसिँह गुरुङ,संविधानसभा सदस्य तेजकुमारी पौडेल, माओवादी नेतृ कल्पना पाण्डे,काँग्रेस क्षेत्रीय सभापति देवीजँग गुरुङ,माओवादी केन्द्रका मादी अध्यक्ष कृष्णराज दाहाल, काँग्रेस क्षेत्रीय सचिव भानु ढकाल, माओवादीका युवा नेता दुर्गाबहादुर गुरुङ,बेलबहादुर विश्वकर्मा लगायतको टोलीले माथिल्लो मादीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको थियो ।

Comments
Loading...