पोखरा महानगरद्धारा वैकल्पिक ‘ल्याण्डफिल’का लागि जमिन खोजी गर्न समिति 

हिमाली आवाज । पोखरा महानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि वैकल्पिक ‘ल्याण्डफिल साइड’का लागि जग्गा खोजी गर्ने भएको छ ।

महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा आज बसेको ५० औँ कार्यपालिका बैठकले ल्याण्डफिलका लागि उपयुक्त जग्गा खोजी गर्न जनप्रतिनिधि, वातावरणविद् सहितको समिति गठन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिने निर्णय गरेको महानगर प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।

महानगरपालिकाले हाल फोहोर व्यवस्थापन गरिरहेको वडा नं १४ को ल्याण्डफिल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका हटाउनुपर्ने भएकाले महानगरले विकल्प खोजी शुरु गरेको हो ।

ल्याण्डफिलका लागि उपयुक्त जग्गा खोजी वा खरिद गर्न आवश्यक भएकाले   समिति गठन गर्ने र सो समितिले सरोकारवाला सबैसँग छलफल गरी प्रतिवेदन पेश गर्ने नेपालीले बताउनुभयो ।

यसैगरी यही असार ९ गतेदेखी शुरु हुने महानगरको  नवौं नगर सभामा  प्रस्तुत गरिने नीति कार्यक्रम, वार्षिक बजेट तथा आर्थिक विधेयक अन्तिम स्वीकृतिको लागि नगर सभामा पेश गर्ने निर्णय गरिएको बताइन्छ ।

विधायन समितिबाट तयार भई पेश भएको पोखरा महानगरपालिकाको कर्मचारी सेवा विधेयक २०७८ स्वीकृत गर्ने र अन्तिम स्वीकृतीको लागि नगर सभामा पेश गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।

महानगरपालिकाका कर्मचारीको नियुक्ति बढुवा, आचरण, विभागीय कारवाही, अवकाश, अवकाश सुबिधा जस्ता विषयका कामकारवाहीमा बाधा परेकाले तत्कालको लागि यी समस्या समाधान गर्न र पछि संघ सरकार र प्रदेश सरकारबाट ऐन निर्माण भएपछि संशोधन गर्नुपर्ने विषयमा संशोधन गर्ने गरी महानगरले सो विधेयक तयार पारेको बताइन्छ ।

यसैगरी महानगरपालिका र फेवा सिल्टेसन ड्याम प्रालिकाबीच फेवा जलाधार क्षेत्रमा बनेको सिल्टेसन ड्याममा जम्मा हुने निर्माण सामग्री संकलन तथा सो बाँध र फेवा किनाराका जग्गा संरक्षणको लागि आवश्यक पूर्वाधार निर्माण सम्बन्धी सम्झौताका बारेमा उठेका गुनासोहरु बारे सरोकारवालाहरुसँग छलफल गरि समस्या समाधान गर्न परामर्श समिति गठन गरिएको छ ।

प्रशासकीय अधिकृत महेश बराल, वडा नं २४ का वडाध्यक्ष ओम प्रसाद सुबेदी, वडा नं. २३ का अध्यक्ष विष्णु पराजुली, सहितको टिमले सिल्टेसन ड्याम रहेको  क्षेत्रमा सरोकारवाला स्थानीय प्रतिनिधिबीच छलफल परामर्श गर्ने महानगरले जनाएको छ ।

सदस्य सचिवमा खड्का नियुक्त

कार्यपालिका बैठकले महानगरपालिका खेलकूद विकास समितिका सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गरेको छ ।

महानगरपालिका–३२ निवासी खड्कालाई महानगर खेलकूद विकास ऐन, २०७५ को दफा ३ (झ) बमोजिम नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता नेपालीले जानकारी दिनुभयो ।

Comments
Loading...