पोखरा महानगरको बजेट ६ अर्व २७ करोड

हिमाली आवाज । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ६ अर्व २७ करोड ७७ लाखको बजेट ल्याएको छ ।

महानगरको नवौँ नगरसभामा आज उपप्रमुख मञ्जुदेवी गुरुङले सो बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटका स्रोतहरुमा संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजार र आन्तरिक आयबाट २ अर्ब २२ करोड रहेको छ ।

बजेटका स्रोतमा १ अर्ब ३ करोड ७५ लाख ९२ हजार न्यून हुने देखिएकामाले न्यून हुन जाने बजेट पूर्ति गर्न गत आवको सञ्चित मौज्दात र चालु आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने उपप्रमुख गुरुङले बताउनुभयो ।

कुल बजेटमा चालुतर्फ रु २ अर्ब ९० करोड ९४ लाख अर्थात ४६ दशमलव ४ प्रतिशत, पुँजीगत खर्चतर्फ रु.३ अर्ब ३६ करोड ८० लाख अर्थात ५३ दशमलव ६ प्रतिशत विनियोजन प्रस्ताव गरिएको छ ।

खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख अथार्त १४ प्रतिशत, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार, अर्थात २ प्रतिशत, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख ३५ हजार, २२ दशमलव सातपाँच प्रतिशत, कृषितर्फ १४ करोड ४९ लाख अर्थात २ दशमलव ३ प्रतिशत, स्वास्थ्यतर्फ ४० करोड २२ लाख, ६ दशमलव ४ प्रतिशत, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख ६ दशमलव ६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात ४५ दशमलव ७ प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।

कोभिड–१९ को रोकथाम तथा संक्रमितको उपचारमा सक्रियताका साथ सहभागिता, वडा कार्यालय भवनहरु तथा महानगरको प्रशासनिक भवन निर्माण गरी संस्थागत सुधार, कनेक्टिङ रोडहरुको निरन्तरता मार्फत् विकटलाई निकट ल्याउने अठोट र शहरी क्षेत्रमा सडक बत्ती विस्तार तथा आस्फाल्ट प्रविधियुक्त सडक निर्माण मार्फत् स्मार्ट पोखरा र सेफर सिटीको नारा कार्यान्वयनलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।

यसैगरी स्यानिटरी ल्यान्डफिल साइटको वैकल्पिक व्यवस्था गरी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहजीकरण गर्ने,सामाजिक अभियानहरु मार्फत् जनताको जीवनस्तरमा सुधार गर्ने र पर्यटन तथा अन्य पूर्वाधारको क्षेत्रमा निजी लगानी परिचालन गरी रोजगारी सिर्जना र आर्थिक विकासमा योगदानलाई बजेटका प्राथमिकतामा राखिएको छ ।

Comments
Loading...