कास्कीका पाँच स्थानीय तहको बजेट आठ अर्व ६३ करोड

हिमाली आवाज । स्थानीय तहले असार १० गतेभित्र बजेट कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार कास्कीका पाँचवटै स्थानीय तहले निर्धारित समयभित्रमा बजेट कार्यक्रम प्रस्तुत गरेका छन् ।

एक महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा पाँचवटै स्थानीय तहले कोरोना महामारीबाट नागरिकको जीवन रक्षा सहित पूर्वाधार विकास, कृषि, पर्यटन र सामाजिक विकासका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर बजेट कार्यक्रम ल्याएका हुन् ।

रुपा गाउँपालिकाले असार ९ गते बजेट कार्यक्रम प्रस्तुत गरेकामा अन्य सबै स्थानीय तहले असार १० गते आफ्नो नगर तथा गाउँसभामा बजेट कार्यक्रम प्रस्तुत गरी पारित गरेका छन् ।

जिल्लाका पाँच स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु आठ अर्व ६३ करोड ४३ लाख १६ हजार बजेट ल्याएका छन् ।
स्थानीय तहले सङ्घ तथा प्रदेश सरकारको वित्तिय हस्तान्तरणबाट प्राप्त अनुदान, राजश्व बाँडफाँडबाट प्राप्त रकम र आन्तरिक आयलाई बजेटका स्रोतका रुपमा राखेका छन् ।

भौगोलिक रुपमा देशकै सवैभन्दा ठूलो पोखरा महानगरपालिकाले रु छ अर्व २७ करोड ७७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको हो ।
यसैगरी रुपा गाउँपालिकाले रु ४७ करोड ६८ लाख ३५ हजार, मादीले ५६ करोड ४ लाख ८३ हजार, अन्नपूर्ण गाउँपालिकाले रु ७५ करोड ३५ लाख र माछापुच्छ«े गाउँपालिकाले रु ५६ करोड ५८ लाख ९८ हजार बराबरको बजेट ल्याएको छ ।

पोखरा महानगरले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको छ । यसैगरी कोभिड–१९ को रोकथाम तथा सङ्क्रमितको उपचारमा सक्रियताका साथ सहभागिता र वडा कार्यालय भवनहरु तथा महानगरको प्रशासनिक भवन निर्माण गरी संस्थागत सुधार महानगरको आगामी वर्षको कार्यक्रम रहेको छ ।

‘कनेक्टिङ रोड’हरुको निरन्तरता र शहरी क्षेत्रमा सडक बत्ती विस्तार तथा आस्फाल्ट प्रविधियुक्त सडक निर्माण मार्फत् स्मार्ट पोखराको नारा कार्यान्वयनलाई बजेटमा प्राथमिकतामा राखिएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।

मादी गाउँपालिकाले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन, कोभिडका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएका पालिकाबासी नागरिकलाई रोजगारीका अवसरको सिर्जना, कृषि क्षेत्रको आधुनिकीकरणमार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि, र भौतिक पूर्वाधार विकासमा जोड दिंदै अधुरा तथा क्रमागत आयोजनालाई सम्पन्न गर्ने गरी बजेटमा प्राथमिकताका क्षेत्र तय गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधार विकासलाई कार्यान्वयन गर्ने गरी बजेट कार्यक्रम प्रस्तुत गरेको छ । महामारी नियन्त्रण, रोजगारी सिर्जना र कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले बताउनुभयो ।

माछापुच्छ«े गाउँपालिकाले ‘पर्यटन,कृषि, उर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ«ेको आधार’को नारालाई साकार पार्दै मानव जीवन रक्षा गर्ने, भविष्यप्रति आधारयुक्त आशा जगाउने र अर्थतन्त्रको पुनःउत्थानको गर्दै तीव्र विकासको बाटोमा लैजाने गरी पालिकाका सबै स्रोत साधन परिलक्षित गरिने उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताउनुभयो ।

Comments
Loading...