“पर्यटन, कृषि, जलस्रोत,वन र पूर्वाधार ,समन्यायिक समृद्धि मादीको मूलआधार”

हिमाली आवाज । कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ५६ करोड चार लाख ८३ हजार ५०० को बजेट पारित गरेको छ ।

उपाध्यक्ष विष्णुमाया पौडेलले नवौँ गाउँसभामा प्रस्तुत गर्नुभएको बजेट कार्यक्रम गाउँसभाले पारित गरेको हो ।बजेटमा आर्थिक विकास तर्फ रु तीन करोड तीन लाख २५ हजार, सामाजिक विकास तर्फ रु २९ करोड ४० लाख २० हजार र पूर्वाधार विकासमा रु १० करोड ६८ लाख ९० हजार छुट्टाइएको छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड १३ लाख ३० हजार र सुशासन तथा संस्थागत विकासमा रु ११ करोड ७९ लाख १८ हजार ५०० विनियोजन गरिएको छ ।

“पर्यटन, कृषि, जलस्रोत,वन र पूर्वाधार ,समन्यायिक समृद्धि मादीको मूलआधार”को नारालाई साकार पार्न आगामी वर्षको बजेट कार्यक्रम केन्द्रित रहेको उपाध्यक्ष पौडेलले बताउनुभयो ।

गाउँपालिकाले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा जोड दिएको छ । यसैगरी कोभिडका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएका पालिकाबासी नागरिकलाई रोजगारीका अवसरको सिर्जनामा बजेट लक्षित रहेको बताइन्छ ।

आगामी वर्षको बजेट विगतका वर्षहरुदेखी निर्माण शुरु भएका, स्वास्थ्य तथा विद्यालय भवन, भौतिक पूर्वाधार निर्माणको कार्यलाई पूर्णता दिने गरी विनियोजन गरिएको उपाध्यक्ष पौडेलले बताउनुभयो ।

गाउँपालिकाले आगामी वर्षमा एक घर एक धारा खानेपानी कार्यक्रमलाई पूर्णता दिने, टोल टोलर बस्ती बस्तीमा विद्युतीकरण तथा सडकको पहुँच विस्तार गर्ने, कृषि उत्पादन र वजारीकरणको व्यवस्था गर्ने कार्यक्रम समेटेको छ ।

स्वास्थ्य सेवामा सवैको पहुँच स्थापित गर्ने,सेवा प्रवाहलाई नागरिक मैत्री बनाउने,पारदर्शिता र जवाफदेहिता कायम गर्दै सुशासनको अनुभूति दिलाउने जस्ता योजना तथा कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।

कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापन गरी नागरिकको जनजीवन सामान्यीकरण गर्ने, उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी पालिकाको आवधिक विकास योजनाले लिएका लक्ष्य तथा उद्देश्य हासिल गरिने गाउँपालिकाले जनाएको छ ।

कृषि तथा पशु पालन, घरेलु उद्योग व्यवसायको माध्यमबाट रोजगारी सिर्जना र संघीयता कार्यान्वयनको लागि स्थानीय सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन कार्यक्रम बजेटमा प्राथमिकतामा राखिएको छ ।

रोजगारी सिर्जना र उद्यमशिलता विकासका लागि अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रम, कृषि पशु औजार उपकरण तथा कृषि सामग्रीमा अनुदान, गाउँपालिका स्तरीय नर्सरी स्थापना गरी विउ विरुवामा गाउँपालिकालाई आत्मनिर्भर बनाउने, पर्यटन उद्योगको विकास गरी आन्तरिक आय वृद्धि गर्न पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

Comments
Loading...