गण्डकीलाई स्वास्थ्यमा नमूना प्रदेश बनाउन लागौँ : नवनियुक्त मन्त्री अधिकारी

हिमाली आवाज । गण्डकी प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीले आज मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।
पोखरा महानगरपालिका–१० रामघाटस्थित मन्त्रालयमा पुगेर उहाँले पदबहाली गर्नुभएको हो । सो अवसरमा मन्त्रालयमा उपस्थित कर्मचारीहरुलाई सम्वोधन गर्दै उहाँले स्वास्थ्यका क्षेत्रमा प्रदेशलाई नमूना बनाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो,“गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नूमना प्रदेश बनाउनका लागि सबै जना सिर्जनशील भएर लाग्नु जरुरी छ । नीति कार्यक्रम कार्यान्वयनसँगै स्वास्थ्यका अन्य विषयलाई व्यवस्थित गर्न खोजी, अध्ययन र कार्यान्वयनतर्फ लाग्न विशेष अनुरोध गर्दछु । ”

मन्त्री अधिकारीले सङ्घीय सरकारले उपलव्ध गराउने कोरोना खोप अपुग भएमा विभिन्न देशहरुबाट सेवा लिएर भएपनि खोप कार्यक्रम प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“ कोरोना खोप संघीय सरकारले प्रदेशलाई कति दिन सक्छ त्यो बाहेक विभिन्न संघ,संस्था वा देशहरुबाट माग गरेर भएपनि खोप प्रभावकारी बनाउने छौँ । सबै नागरिकलाई खोप उपलव्ध गराउन सरकार प्रतिवद्ध छ ।”

पाठेघर र स्तन क्यान्सरबाट पीडित भएका महिलाहरु कमजोर आर्थिक अवस्थाका कारणले उपचारबाट बञ्चित हुनुपरेको अवस्था अन्त्य गर्न नीति कार्यक्रममा उनीहरुको निःशुल्क उचपार गर्ने कार्यक्रम समावेश गरिएकाले सो कार्यान्वयन गरिने मन्त्री अधिकारीले स्पष्ट पार्नुभयो ।

स्वास्थ्यमन्त्री अधिकारीले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने योद्धाहरुको सम्मानका लागि उनीहरुको परिवारलाई परिचयपत्र दिने नीतिगत निर्णय भएकाले शहीदका परिवारको समेत निःशुल्क उपचार गर्न पहल गरिने जानकारी दिनुभयो ।

मन्त्री अधिकारीलाई मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले कार्यक्षेत्र, कोरोना नियन्त्रणका लागि हालसम्म गरिएको कार्यहरु, मन्त्रालयको संगठनात्मक विवरण लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

Comments
Loading...