कास्कीको मादीमा एम्बुलेन्स चालकलाई खोलाले बगाउँदा घाइते

हिमाली आवाज । कास्कीको मादी गाउँपालिका–९ मा आज दिउँसो खोला तर्ने क्रममा माथिबाट आएको भेलले बगाउँदा एम्बुलेन्स चालक घाइते भएका छन् ।

सोही वडाको मुङ्ग्रेबेँशी  निवासी ८६ वर्षीया मुटुरोगी गोमा अधिकारीलाई उपचारका लागि पोखरा लिएर आएको ग १ झ ४४८ नम्बरको पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्स बिरामीको बाटोमा मृत्यु भएपछि फर्कदै गर्दा बुदेखोलामा माथिबाट आएको भेलले बगाउँदा चालक रविडाँडा बस्ने ३४ वर्षीय सुभास अधिकारी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालक अधिकारी एम्बुलेन्सबाट निस्की भाग्ने क्रममा खोलाले पाँच मिटर तल बगाएको र उहाँको ढाड र पाखुरामा चोट लागेको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

घाइतेको हाल पोखरामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले एम्बुलेन्स खोलाबाट निकालेर गन्तव्यतर्फ पठाइएको जनाएको छ ।

Comments
Loading...