पोखरा स्पोर्टस् अवार्ड : नविन र पार्वतीलाई ‘वर्ष उत्कृष्ट खेलाडी’ को उपाधि

–कृष्ण दवाडी
हिमाली आवाज । पोखरामा आज साँझ सम्पन्न ‘पाँचौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड’मा पुरुषतर्र्फ कराँतेका नविन रसाइली र महिलातर्फ तेक्वान्दोका पार्वती गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित हुनुभएको छ ।

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा भएको अवार्ड वितरण कार्यक्रममा मनोनयनमा पर्नुभएका फुटबलका सुमन अर्याल र टेवलटेनिसका विनेश खनियाँलाई पछि पार्दै रसाइली पुरुषतर्फको विधामा उत्कृष्ट बन्न सफल हुनुभएको समारोहमा घोषणा गरिएको थियो ।रसाइलीले उपाधि सहित रु दुई लाख र ट्रफी पुरस्कार प्राप्त गर्नुभयो । उहाँले १३ औँ सागमा स्वर्ण पदक जित्नुभएको थियो ।

यसैगरी महिलातर्फ तेक्वान्दोका गुरुङले साइक्लिङका जमुना थापा र तेक्वान्दोका प्रशंसा क्षेत्रीलाई पछि पार्दै उत्कृष्ट घोषित हुँदै रु दुई लाख र ट्रफी पुरस्कार प्राप्त गर्नुभयो । गुरुङ नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । उहाँले १३ औँ सागमा स्वर्ण पदक हात पार्नुभएको थियो ।
वर्षउदीयमान खेलाडीको अवार्ड पौडी खेलका दुवाना लामाले जित्न सफल हुनुभयो । मनोनयनमा पर्नुभएका लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्रीलाई पछि पार्दै दुवानाले अवार्ड हात पार्न सफल हुनुभएको हो । लामाले १३ औँ सागमा छ काश्य पदक जित्न सफल हुनुभएको थियो ।

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड बक्सिङका सुरेश मल्ल ठकूरीले हात पार्न सफल हुनुभयो । उहाँले पौडीका आनन्द कुँबर र फुटबलका किरण श्रेष्ठलाई उछिन्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल हुनुभएको हो । मल्लको प्रशिक्षणमा नेपालले सागमा तीन स्वर्ण सहित १० पदक जितेको थियो ।

वर्ष उत्कृष्ट खेल संघको अवार्ड कास्की जिल्ला आर्चरी संघले प्राप्त गरेको छ । यसैगरी वर्ष उत्कृष्ट खेलकूद पत्रकारिता अवार्ड २०७६ बाट सन्देश श्रेष्ठ र विसं २०७७ बाट केशव पाठक पुरस्कृत हुनुभयो । हरेक विधामा उत्कृष्ट खेलाडी, खेल सङ्घ र खेलपत्रकारलाई जनही रु ३५ हजार,ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो ।

पूर्व फुटबल खेलाडी एवं जिल्ला फुटबल सङ्घका पूर्व अध्यक्ष आनन्द रञ्जित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनुभयो । उहाँलाई चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्लाबाट सम्मान गरिएको थियो ।अवार्ड विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुुरुङ,राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, मञ्चका अध्यक्ष एकराज गिरी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री नेपालीले खेलकूद क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको बताउँदै उहाँले खेलकूद पूर्वाधार निर्माणलाई सरकारले बजेट कार्यक्रममा समावेश गरेको जानकारी दिनुभयो ।

अघिल्लो वर्ष समेत कोरोनाका कारण सञ्चालन हुन नसकेको अवार्ड यसवर्ष विसं २०७६÷७७ दुई वर्षलाई जोडेर संयुक्त रुपमा प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी वितरण गरिएको मञ्चले जनाएको छ ।

खेलाडीको दुई वर्षको प्रदर्शनलाई आधार मानेर मनोनयन सार्वजनिक गरिएको र उत्कृष्ट खेलाडी छनोट गरिएको मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो ।

Comments
Loading...