किसानले बिक्री गर्न नसकेका कृषि उपज गण्डकी प्रदेश सरकारले खरिद गरिदिने

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषि उपज बिक्रीका लागि समर्थन मूल्य तोकी बिक्री हुन नसकेको कृषिजन्य उत्पादन प्रदेशले खरिद गर्ने बताउनुभएको छ ।

सिलिंगे कृषि उत्पादक सहकारी संस्था लिमिटेडले शनिबार आयोजना गरेको कृषि औजार तथा सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले यो योजना कार्यान्वयनका लागि निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गरिने बताउनुभयो ।

सहकारी संस्थाको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा संस्थागत क्षमता विकासलाई प्रदेश सरकारले प्राथमिकतमा राखिएको बताउँदै उहाँले भन्नुभयो,‘एक सहकारी–एक उत्पादन कार्यक्रमलाई प्रवद्र्धन गर्न बजेटमा आवश्यक व्यवस्था गरिएको छ ।’

विभिन्न अन्नबाली, फलफूल, नगदेबाली तथा तरकारी र पशुपन्छी तथा मत्स्यपालनका पकेट र ब्लक क्षेत्र स्थापना र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको मुख्यमन्त्रीले जानकारी दिनुभयो ।

भेटेरिनेरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रयोगशालाको स्तरोन्नति गर्न तथा पशु रोग नियन्त्रणका लागि पशुखोप कार्यक्रम सञ्चालन मुख्यमन्त्रीले बताउनुभयो ।

सो अवसरमा हाते ट्रयाक्टर, डिजिटल तराजु, सिँचाइ पाइप, हजारी, थोपा सिंचाइका लागि सामग्री किसानलाई हस्तान्तरण गरिएको छ । करिब ४७ लाख बराबरका सामान किसानलाई प्रदान गरिएको सहकारी अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले ग्रामीण भेगका नागरिकको आर्थिक समृद्धिका लागि सहकारीलाई अगाडि सार्नुपर्ने बताउँदै अहिले प्रदेशमा सरकारको नेतृत्व फेरिएसँग जनअपेक्षा पनि बढेको भनाइ राख्नुभयो।

प्रदेश सभा सदस्य तथा अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले किसानलाई उकास्न प्रदेश सरकार र प्रदेश सभा सदस्य सधैं क्रियाशील रहेको भन्दै अब कृषिलाई उद्यमका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीले किसानहरु अहिले प्रविधिमैत्री भएको भन्दै त्यस अनुसारको उत्पादन गरी राष्ट्रिय अर्थतन्त्रमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।कृषि ज्ञान केन्द्र कास्की प्रमुख शालिकराम अधिकारीले कृषितर्फ पनि बेलैमा ध्यान दिन आग्रह गर्नुभयो ।

Comments
Loading...