हिमाली आवाज । पोखरामा सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ ।
पोखरा महानगरपालिका–५ गणतन्त्र चोकमा ग १ ख ९७०३ नं.को टिप्परले पैदलयात्री स्याङ्जा बिरुवा गाउँपालिका–४ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने ४० वर्षीया रीता केसीलाई हिजो साँझ ठक्कर दिएको थियो ।
टिप्परको ठक्करपछि गम्भिर घाइते केसीलाई उपचारका लागि अस्पताल लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणुकमार विकले जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यसैगरी आज दिउँसो १ः०० बजेको समयमा पोखराको अमरसिँहचोकमा ग ११ प १४४६ नं.को स्कुटर आँफै अनियन्त्रित भई सडक छेउमा रहेको विजुलीको पोलमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।
स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–१ कोत्रे बस्ने १८ वर्षीय सञ्जोग परियारको अवस्था गम्भिर रहेको र पछाडि बसेका लमजुङको बेशीशहर घर भई हाल शुक्लागण्डी–१ कोत्रे बस्ने १९ वर्षीय विश्वास मझकोटीको अवस्था मध्यम रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुबै घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ विकले जानकारी दिनुभयो ।