कौरा पत्रकारिता पुरस्कार एमबी आस्थालाई

हिमाली आवाज । नेपाल मगर पत्रकार संघ, कास्कीले प्रदान गर्दै आएको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७८”बाट यस वर्ष कास्कीका पत्रकार एमबी आस्था मगरलाई पुरस्कृत गरिने भएको छ ।

राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालले स्थापना गरेको सो पुरस्कारबाट एबीसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्यूरो प्रमुख मगरलाई पुरस्कृत गरिन लागेको संघका अध्यक्ष रूद्रबहादुर हितानमगरले जानकारी दिनुभयो । पुरस्कारको राशि १० हजार रुपैयाँ नगद र ताम्रपत्र रहेको छ ।

पुरस्कारका लागि गठित प्रतिभा छनौट समितिले सिफारिस गरे अनुसार मगर पत्रकार संघ, कास्कीको शनिबार सम्पन्न बैठकले पत्रकार मगरको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा गठित छनौट समितिमा हर्क आलेमगर, तारामाया थापामगर, नरमाया आलेमगर र रूद्रबहादुर हितानमगर रहनुभएको थियो ।

मगर जातिको मौलिक संस्कृतिको रुपमा रहेको कौरा नाचको उत्थान र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान पु¥याउने एक जना मगर पत्रकारलाई हरेक वर्ष यस पुरस्कारबाट सम्मान गरिँदै आएको छ । पुरस्कार हरेक वर्ष जेठ १५ गते कौरा संरक्षण समितिको स्थापना दिवसका दिन प्रदान गरिने भएपनि कोरोना महामारीका कारण ढिलाइ भएको समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिनुभयो ।

यसअघि, सो पुरस्कारबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)की कमला रानामगर, कास्कीका तिलकप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भइसक्नुभएको छ । साउने संक्रान्तिको विशेष पारेर आयोजना गरिने विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिने कार्यसमिति सदस्य मीना थापामगरले जानकारी दिनुभयो ।

Comments
Loading...