नापी कार्यालय कास्कीको सेवा साउन १ गतेसम्म बन्द हुने

हिमाली आवाज । जिल्ला नापी कार्यालय कास्कीको सेवा आगामी साउन १ गते शुक्रबारसम्मका लागि स्थगन गरिएको छ ।

नापी कार्यालयले आज एक सूचना जारी गरी कार्यालयमा कार्यरत छ जना कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएकाले असार २७ गते आइतबारदेखी छ दिन सम्म सेवा बन्द गरिएको जनाएको छ ।

कार्यालयका प्रमुख एवं प्रमुख नापी अधिकृत इन्जिीनियर खिमलाल गौतमले सङ्क्रमित कर्मचारी होम आइशोलेशनमा रहेको र अन्य कर्मचारीमा पनि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाले आइशोलेशनमा बस्नुपर्ने भएकाले सेवा बन्द गरिएको बताउनुभयो ।
सीमित कर्मचारीबाट सेवा प्रवाह गर्न कठिन हुने र सेवाग्राही समेत सङ्क्रमणको जोखिममा रहने भएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको उहाँको भनाई छ ।

नेपाल सरकारबाट विभिन्न समयमा भएका निषेधाज्ञा तथा सरकारबाट जारी स्वास्थ्य मापदण्ड बमोजिम गत असार १० गतेबाट सेवा सुचारु हुँदै आएकामा सेवा प्रवाहका क्रममा कर्मचारीहरु सङ्क्रमित भएको बताइन्छ ।नापी कार्यालयले राष्ट्रिय महत्वका योजना तथा न्यायिक निकायसँग सम्बन्धित कार्य भने सञ्चालन हुने जनाएको छ ।

लामो समय निषेधाज्ञाका कारण नापीको सेवा बन्द हुँदा कार्यालय खुलेपछि सेवाग्राहीको भीड लागेको थियो ।आर्थिक वर्षको मसान्तका कारण कार्यालयमा भीडभाड बढेको र दूरी कायम गर्न कठिनाई भएकाले कर्मचारी सङ्क्रमित भएको बताइन्छ ।

Comments
Loading...