हेलम्बुका पीडितलाई तीन लाख बराबरको खाद्य सामग्री सहयोग

काठमाडौँ । पछिल्लो समय देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण विपतमा परेका नेपालीलाई स्वदेश तथा विदेशमा बसेका नेपालीबाट सहयोग गर्ने क्रम बढेको पाइएको छ ।

हालै ताइवानवासी नेपालीले हेलम्बु गाउँपालिका–१ अन्तर्गत चनौति मगरगाउँका पीडित ४५ घरपरिवारलाई करीब तीन लाख बराबरको सहयोग प्राप्त भएको छ ।

उनीहरुलाई चामल, दाल, तेललगायत खाद्य सामग्री उपलब्ध गराइएको छ । लामो समयदेखि ताइवानमा बसेर विभिन्न पेशा, व्यवसायलगायत कार्यमा क्रियाशील नेपालीहरु नविन अधिकारी, सुरज गुरुङ, सोनम तामाङ र युवराज तामाङले आर्थिक सङ्कलन गरी स्वदेशमा हालैको दैबी प्रकोपका कारण विपतमा परेका नेपालीलाई आफ्नो सक्षमताले भ्याएसम्म आर्थिक तथा जिन्सी सहयोग गरेका हुन् ।

उक्त सहयोग हस्तान्तरणका लागि स्वदेशस्थित समाजसेवी सुवोधप्रसाद प्रधान नेतृत्वको प्रतिनिधिमण्डलले पीडित पक्षको लगत सङ्कलन गरी हालै हेलम्बु पुगेर खाद्य सामग्री प्रदान गरेको हो । उक्त प्रतिनिधिमण्डलमा केदामान सिंह, निर्मलप्रसाद श्रेष्ठ, अनिरुद्रप्रसाद प्रधान, सरोज श्रेष्ठ र सुजित वैद्य हुनुहुन्छ ।

गत महिना मुलुकका विभिन्न भागमा परेको वर्षाले पहाडी भेगमा बाढी पहिरो तथा तराई क्षेत्रमा डुवान शुरु भएको थियो । त्यस्तै गएको असार पहिलो सातामा भएको वर्षाले हेलम्बु, मेलम्चीलगायत सिन्धुपाल्चोकका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक प्रधानले विभिन्न जाति समुदायले सजिएको हाम्रो राष्ट्रमा विभिन्न कारणले अप्ठेरोमा परेका नेपालीलाई सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले समेत असर पु¥याएको हाम्रो समाजमा वर्षातको समयमा दैवी प्रकोपले समेत समस्या थपेको छ ।

Comments
Loading...