व्यवसायीलाई खोप उपलव्ध गराइदिन स्वास्थ्यमन्त्री समक्ष पोउवा संघको आग्रह

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघले उद्योगी÷व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष सो माग राखेको हो । जवाफमा स्वाथ्यमन्त्री गुरुङले संघ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै सम्भव भएसम्म व्यवसायीहरुलाई प्राथमिकताको आधारमा खोप उपलब्ध गराउन प्रदेश सरकार सकारात्मक भएको बताउनुभयो ।

संघको प्रनिनिधिमण्डलमा प्रदेश सांसद तथा संघका पूर्वअध्यक्ष विन्दुकुमार थापा, संघका उपाध्यक्ष अर्जुन पोखरेल, महासचिव सुरेन्द्र्रमान विजुक्छे, उपमहासचिव केशवबहादुर खत्री, संघका कार्यसमिति सदस्य एवं स्वास्थ्य उपसमिति संयोजक भरतबहादुर केसी एवं संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको सहभागिता रहेको थियो ।

health

ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायीहरु खोपबाट बञ्चित हुनु दुःखद भएको बताउनुभयो । उहाँले दिनमै सयौं व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने व्यवसायीहरु असुरक्षित हुनु भनेको समाज नै असुरक्षित रहनु हो भन्दै समाजलाई संक्रमणबाट जोगाउन पनि व्यवसायीले खोप पाउनुपर्ने माग गर्नुभयो ।

यता, संघका प्रतिनिधिमण्डलले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई सोही व्यहोराको बोधार्थपत्र बुझाउँदै खोपको प्रबन्धको आग्रह गरेको थियो । प्रत्युत्तरमा प्रजिअ गौतमले स्थानीय प्रशासन निजी क्षेत्रको मागप्रति सकारात्मक रहेको बताउनुभयो । संघका अध्यक्ष नारायण कोइरालाले खोपको व्यवस्था भएपछि संघसँग समन्वय गर्न आग्रह गर्नुभयो ।

खोप केन्द्रमा भीडभाड भएको गुनासो आएकाले व्यवसायीलई खोपको व्यवस्था हुँदा पोखरा प्रदर्शनी केन्द्रलाई नै खोप केन्द्र बनाउन अनुरोध पनि अध्यक्ष कोइरालाको रहेको थियो ।

टिप्पणिहरु
Loading...