गण्डकी प्रदेश सरकारले प्रहरीलाई दियो सवारी साधन

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुका लागि सवारी साधन हस्तान्तरण गरेको छ ।सरकारले प्रहरीका लागि अत्यावश्यक चार थान टाटा पिकअप भ्यान र एक थान बस बिहीबार हस्तान्तरण प्रदान गरेको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमकाबीच गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीलाई गाडीका चावी हस्तान्तरण गर्नुभएको हो ।सरकारले उपलव्ध गराएको सवारी साधनबाट प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा मुख्यमन्त्री नेपालीले प्रहरीलाई चुष्तदुरुष्त, संगठित र सक्षम बनाउन बनाउँदै सवलीकरण अपरिहार्य रहेकाले प्रदेश सरकार प्रहरीका समस्या समाधानका लागि दृढ रहेको बताउनुभयो ।उहाँले भन्नुभयो,“सरकारको सफलता र असफलताको आधारनै शान्ति सु–व्यवस्था र सु–शासन हो । सरकार प्रहरीलाई साधन स्रोत सम्पन्न बनाएर सेवा प्रवाह सरल बनाउन प्रतिवद्ध छ ।”

प्रहरी नायव महानिरीक्षक लोहनीले प्रदेश प्रहरी संरचना तथा प्रशासनिक गतिविधि, प्रहरी कार्य तथा शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन तथा कोभिड–१९ व्यवस्थापन, अपराध नियन्त्रण लगायतका विषयमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउनुभएको थियो ।

उहाँले प्रदेशभर सात हजार ४९४ दरबन्दी भए पनि पाँच हजार ७०० जना कार्यरत रहेको जानकारी दिँदै प्रहरीको तल्लो तहका साधन स्रोतको अभाव रहेको उल्लेख गर्नुभयो ।

Comments
Loading...