अर्थमन्त्री बरालको पहिलो निर्णय : फ्रन्टलाइनरलाई एक करोड,पूँजीगत खर्च बढाउने प्रतिवद्धता

हिमाली आवाज । गण्डकी प्रदेशका नवनियुक्त अर्थमन्त्री रामजी प्रसाद बरालले आज पदबहाली गर्नुभएको छ । प्रदेश प्रमुखको दिउँसो शपथपछि शहीद पार्कमा पुगेर जनयुद्धका शहीदलाई माल्यार्पण गरेपछि मन्त्री बराल मन्त्रालयमा पुगेर पदबहाली गर्नुभयो ।

अर्थमन्त्री बरालले आफ्नो पहिलो निर्णय कोरोना महामारी रोकथाम र नियन्त्रणको अभियानमा अग्रपंक्तिमा खटिएका(फ्रन्टलाइन) स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई प्रोत्साहन भत्ता उपलव्ध गराउन बजेट निकासा गर्नुभयो । मन्त्री बरालले प्रोत्साहन भत्ताका लागि रु एक करोड निकासा गर्ने निर्णय गर्नुभएको हो । कार्यविधि बनाएर सो भत्ता सम्बन्धितलाई वितरण गरिने छ ।

पदबहालीपछि मन्त्रालयका कर्मचारीलाई संक्षिप्त निर्देशनात्मक मन्तव्य व्यक्त गर्दैै चूनौतीपूर्ण समयमा मन्त्रालयको जिम्मेवारी लिएकाले त्यसलाई सबै मिलेर पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो  ।

मन्त्री बरालले राजीतिक आस्था भन्दा माथि उठेर समृद्ध प्रदेश निर्माण र आत्मनिर्भर अर्थतन्त्र विकासका लागि क्रियाशिल हुन आग्रह गर्नुभयो । उहाँले पूँजीगत खर्च बढाउने र चालू खर्च व्यवस्थित गर्दै सुशासन कायम गर्न आफू लागिपर्ने प्रतिवद्धता उहाँको छ ।

सो अवसरमा मन्त्रालयका सचिव रमेशकुमार केसीले मन्त्री बराललाई मन्त्रालयको संरचना, कर्मचारी दरवन्दी, बजेट कार्यान्वयन र गत वर्षका प्रगति लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

Comments
Loading...