पर्यटन र कृषि गण्डकी प्रदेश समृद्धिका आधार : मुख्यमन्त्री पोखरेल

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताउनुभएको छ ।

पुम्दीकोट विकास समितिले पोखरा २२ मा बनाउँदै गरेको विशाल महादेव मुर्ति अवलोकनपछि सोमबार उहाँले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसै अनुसारको योजना बनाएर अगाडि बढ्ने भनाइ राख्नुभयो ।

नवलपुरको गजेन्द्रमोक्ष धाम देवघाट, पुम्दीकोट हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्ने उहाँको भनाई छ । जनस्तरबाट सुरु गरेर यति ठूलो लगानीमा काम भएकामा प्रशंसा गर्दै विगतमा वर्षमा जस्तै प्रदेश सरकारको सहयोग निरन्तर रहने बताउँदै उहाँले प्रदेश सरकारले यो वर्ष पनि ५० लाख रुपैयाँ पुम्दीकोटका लागि छुट्याएको जानकारी दिनुभयो ।

अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पुम्दीकोट पुग्ने बाटो निर्माण प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। धार्मिक पर्यटकीय केन्द्रका रुपमा स्थापित पुम्दीकोटमा मन्दिरका लागि सरकारले अझै रकम थप्नुपर्ने उहाँको भनाई छ । ‘यो लगानीले रिटर्न दिन्छ, सबै दलहरु यसमा प्रतिबद्ध छन्, राज्यस्तर र जनस्तरबाट लगानी भएको परियोजनालाई सार्थक बनाउने जिम्मा पनि हाम्रै हो ।’ उहाँले भन्नुभयो । कार्यक्रममा मन्त्रीहरु कुमार खड्का, मेखलाल श्रेष्ठ, बिन्दुकुमार थापा, चन्द्रबहादुर बुढा, दीपक थापा सहभागी हुनुभएको थियो । मुख्यमन्त्रीसहित मन्त्री र सांसदको टोलीले मुर्ति निर्माणस्थलको अवलोकन गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस सचेतक ओमकला गौतमले पर्यटन प्रवद्र्धनबाटै समृद्धि सम्भव भएको र धार्मिक केन्द्रहरुको निर्माणले यसमा अझै टेवा पुग्ने बताउनुभयो ।समितिका अध्यक्ष चन्द्रकान्त बरालले जनस्तरबाट थालेको प्रयासले अहिले विशाल रुप लिएको भन्दै विश्वकै पर्यटकहरु आकर्षण गरिने थलो भएको सरकारीस्तरबाट समेत थप सहयोगको अपेक्षा गर्नुभयो ।

कांग्रेस नेता खेमराज पौडेलले पोखरा बजार नजिकै रहेको पवित्रस्थल पुम्दीकोटमा बन्दै गरेको संरचनाले गण्डकी प्रदेशकै मुहार फेर्न विश्वास व्यक्त गर्नुभयो । वडाध्यक्ष मित्रलाल बरालले पुम्दीकोट पुग्न धेरै सडक भए पनि एउटै पनि पिच नहुँदा समस्या परेको बताउनुभयो । पुम्दीकोट विकास समिति उपाध्यक्ष हिमलाल बरालले सबैको सहयोगबाट पुम्दीकोट यो अवस्थामा पुगेको भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्नुभयो ।

समितिका सचिव प्रकाश बरालले पुम्दीकोटको ऐतिहासिक पक्षबारे जानकारी गराउँदै प्रदेश सरकारले यसको स्वामित्व लिएर प्रवद्र्धमा जोड दिन आग्रह गर्नुभयो ।

आर्किटेक्ट इन्जिनियर बाबुराम बरालले युवा इन्जिनियहरुको साथ लिएर सबै खालका अध्ययनपछि पुम्दीकोटमा यति ठूलो संरचना निर्माण गरिएको बताउँदै भन्नुभयो,‘म आफै इन्जिनियर हो, यसमा धेरै युवा साथीहरुको साथ लिएका छौं, पुम्दीकोटलाई शिवमय, शिवलोक, शिवधामका रुपमा स्थापित गर्न हामी क्रियाशील छौं ।’

भारतको मथुराबाट ल्याइएको मुर्ति रेनफोर्स फाइबरको रहेको र यो कम्तीमा पनि सय वर्ष टिक्ने बताउनुभयो । आगामी दिनमा पल्तिरको डाँडामा कुमार र पार्वतीको मुर्ति बनाउने लक्ष्य रहेको भन्दै उहाँले शिव म्युजियम बनाउने लगायतका योजना सार्वजनिक निजी साझेदारीमा गर्न सकिने भनाइ राख्नुभएको थियो । पुम्दीकोटमा राखिएको महादेवको मुर्ति ५५ फिट अग्लो छ । अध्यक्ष बरालले अहिलेसम्म ७५ प्रतिशत काम सकिएको र २५ प्रतिशत काम पनि छिटै सकिने बताउनुभयो ।

Comments
Loading...