पोखराको लामाचौर–माछापुच्छ्रे सडक डेढ महिनादेखी पहिराले अवरुद्ध,आवतजावतमा सास्ती

हिमाली आवाज । पोखरा महानगरपालिका र माछापुच्छ«े गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखी पहिराले अवरुद्ध बनेको छ ।
महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदा समेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ ।

लामाचौर–माछापुच्छ«े सडकको पक्की कालोपत्र सडक पोखरा महानगरपालिका–१९ बेशीचोकमा गत असार १ गते रातिको पहिराले अवरुद्धपछि हालसम्म सुचारु नहुँदा सर्वसाधारणले सास्ती पाएका छन् ।

पक्की सडक लामो समय अवरुद्ध हुँदा उत्तरी भेगका नागरिक समस्यामा परेका छन् । अहिले माछापुच्छ«े गाउँपालिका र महानगरको वडा नं १९ साविक पुरुनचौर गाविसका नागरिकले घुमाउरो बाटो हुँदै यात्रा गर्न बाध्य छन् । माछापुच्छ«े गाउँपालिकाका आधा भन्दा बढी नागरिक यही सडक हुँदै पोखरा आवत जावत गर्ने गरेका थिए ।

माछापुच्छ«े–२ सार्दिखोलाका गणेश आचार्य दैनिक सयौँ सवारी र नागरिक आवतजावत गर्ने र माछापुच्छ«े गाउँपालिकालाई जोड्ने महत्वपूर्ण महानगरभित्रको मुख्य सडक लामो समय अवरुद्ध हुँदा आफूहरुले ठूलो दुःख र सास्ती पाएको बताउनुभयो । पहिराले बन्द सडक डेढ महिना व्यतित हुँदा समेत खुलाउने प्रयास नभएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“बाटो अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान समेत समस्या भएको छ । छोटो र सिधा बाटो छाडेर हेमजा वा घार्मीको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यतामा हामी छौँ । अहिलेसम्म पनि सडक खुलाउने पहल नहुनु दुःखद र लाजमर्दो भएको छ ।”बेशीचोकमा सडक माथिबाट खसेको पहिराले बाटो अवरुद्ध बनेको हो । यसैगरी सडकको तल्लो भाग समेत पहिराले बगाएको छ ।

गत वर्षपनि सोही स्थानमा पहिरो खसेको थियो । त्यस बेला पनि लामो समय सडक अवरुद्ध बनेको थियो । पूर्वाधार विकास कार्यालय कास्कीले रु ४० लाख लगानीमा मर्मत गरेको सडक एक वर्ष नपुग्दै पहिराले पुनः बगाएको हो ।पूर्वाधार कार्यालय कास्कीका इन्जिीनियर गुरुदत्त अधिकारीले सडक खुलाउने जिम्मेवारी नगरपालिकाको भएको बताउनुभयो ।

गत वर्ष पूर्वाधार कार्यालयले बजेट विनियोजन गरेर काम गरेकामा यस वर्ष पुनः क्षति पुगेको बताउँदै उहाँले तत्काल महानगरले बाटो खुलाउने काम अघि बढाउने र पूर्वाधार कार्यालयले वर्खा सकिएपछि विज्ञको परामर्शमा अन्य पहिरो रोक्ने खालका पूर्वाधार बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले आगामी १५ दिनभित्रमा सडक खुलाइसकिने बताउनुभयो । महानगरको अग्रसरतामा पाँच दिनदेखी जेसिवि र टिप्परले पहिरो पन्छाउने काम गरिरहेको बताउँदै उहाँले पहिरो पन्छाउने र फाउण्डेशनमा जाली भर्ने काम भइरहेको जानकारी दिनुभयो ।

दिनहुँ पानी परेकाले समेत सडक खुलाउने काम तीव्रताका साथ अघि बढाउन समस्या भएको उहाँ बताउनुहुन्छ ।“छिटो कसरी सडक खुलाउने भनेर अहिले हामीले काम शुरु गरेका छौँ ।”वडाध्यक्ष पौडेलले भन्नुभयो,“पहिरो भन्दा तल सिँचाई नहर र खानेपानीको पाइप रहेकाले समेत काममा केही कठिनाई छ । तत्कालका गाडी वारपार कसरी गर्न मिल्ने बनाउन सकिन्छ,त्यसतर्फ केन्द्रित छौँ ।”

पटक पटक सोही ठाउँमा पहिराले दुःख दिएकाले बर्खा रोकिएपछि पहिराको समस्या दीर्घकालीन समाधानका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग समेत सहकार्य गरेर काम अघि बढाइने महानगरले जनाएको छ ।

Comments
Loading...