पोखरामा प्रादेशिक बिउ बिजन प्रयोगशाला भवन शिलान्यास

हिमाली आवाज । गण्डकी प्रदेशमा कृषि बस्तुको बिउ बिजन गुणस्तर मापन र परीक्षण गर्दै आएको बीउ विजन प्रयोगशालाको नयाँ भवन निर्माण हुने भएको छ ।

पोखरा महानगरपालिका–१७ विरौटामा निर्माण गरिने दुई तलाको सुविधासम्पन्न भवनको सोमबार गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गर्नुभयो ।सङ्घीयता कार्यान्वयनपछि साविकको जिल्ला कृषि विकास कार्यालयको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको प्रयोगशालाको सुविधासम्पन्न भवन निर्माणपछि काममा सहज हुने विश्वास लिइएको छ ।

प्रयोगशाला भवन निर्माणका लागि गत असार २२ गते जिएस इन्जिीनियरिङ एण्ड विल्डर्स पोखरासँग रु एक करोड ६३ लाख लागतमा ठेक्का सम्झौता गरिएको प्रयोगशालाका प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत सुदीप खतिवडाले जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालय कास्कीको गत वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार निर्माण गरिने भवन आगामी विसं २०७९ पुस २२ गतेभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।प्रमुख खतिवडाका अनुसार दुई तलाको भवनमा तल्लो तलामा बीउ बिजनको प्रयोगशाला रहने र माथिल्लो तला प्रशासनीक कार्यमा प्रयोग गरिने छ ।

उहाँले भन्नुभयो,“विगतमा भैरहवा कार्यालयले हेर्ने गरेपनि दुई वर्ष अघि गण्डकी प्रदेशमा प्रयोगशालाको कार्यालय स्थापना गरिएको थियो । साँघुरो र जीर्ण भवनबाट बीउ बिजन परीक्षण र प्रमाणित गर्ने कार्यमा समस्या भएकामा आफ्नै भवन बनेपछि सहज हुनेछ ।”

प्रयोगशालाले बिउ विश्लेषण तथा प्रमाणीकरण , प्रादेशिक बिउ उत्पादकहरुको अनुगमन तथा बिउ व्यापारीहरुको नियमन, रैथाने बाली र प्रजनन बिउ संरक्षण तथा सूचीकृत जातका बिउहरुको बजारीकरण गर्दै आएको बताइन्छ ।

कार्यक्रममा मन्त्री बुढाले निर्धारित समयभित्रमा भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । गुणस्तरीय बीउको प्रमाणीकरणपछि मात्र कृषि उत्पादन बृद्धि गर्न सहयोग पुग्ने भनाई उहाँको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव सवनम सिवाकोटीले विउको प्रयोग गर्दा प्रयोगशालाबाट प्रमाणित ट्याग लगाइएको बिउ मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

Comments
Loading...