बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरा आयो

हिमाली आवाज । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ ।

राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियल सहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा आएको हो । भोलीदेखी दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ ।नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिपको तयारीमा छ । आगामी अक्टोबर १ देखी १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता हुने तय भएको छ ।

टोलीलाई पोखरा विमानस्थलमा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङ लगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३७ खेलाडी रहेका छन् ।टोलीको प्रशिक्षणलाई लक्ष्य गरी कास्की जिल्ला फुटबल सङ्घले रङ्गशालामा आवश्यक सबै तयारी पूरा गरिएको छ ।

फुटबल रङ्गशालामा दुवो कटान, मैदान मार्किङ लगायतका काम सम्पन्न गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो । टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी लगायतका अन्य प्रशिक्षकहरुले प्रशिक्षण गराउनुहुनेछ ।

राजधानी बाहिर पर्यटकीय शहर पोखरामा सञ्चालन हुने प्रशिक्षणले खेलाडीलाई शारीरिक र मानसिक रुपमा तयार बन्न र उच्चस्तरको खेल प्रतिभा देखाउन सक्षम बनाउने विश्वास लिइएको छ ।

टोलीले पोखरामा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला सहित नेपाली सेनाको विजयपुर ब्यारेक, सशस्त्र प्रहरीको खेल मैदान र सहारा एकेडेमीको मैदानमा अभ्यास गर्नेछ ।

यसअघि गत वर्ष माघमा तीन साता राष्ट्रिय टोलीको पोखरामा बन्द प्रशिक्षण सञ्चालन भएको थियो । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको प्रतियोगिता अघि टोली पोखरा आएको थियो ।

Comments
Loading...