कास्कीमा ८७ हजार ८०० ले लगाए कोरोना विरुद्धको दुबै डोज खोप

हिमाली आवाज । जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोना विरुद्धको दुबै डोज खोप प्राप्त गरेका छन् ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड,२५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसिलको दुवै डोज खोप प्राप्त गरिसकेका छन् ।

कोरोना विरुद्धको लँडाईमा अग्रपक्तिमा खटिने(फ्रन्टलाइनर),लक्षित वर्ग र विभिन्न उमेर समूहका आधारमा कोरोना विरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।एकमात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप २५ हजार जनाले लगाएका छन् । जिल्लामा २५ हजार १५० मात्रा खोप प्राप्त भएकामा १५० खोप वैदेशिक रोजगारीमा जानेहरुका लागि लक्ष्य गरी राखिएको छ ।

यसैगरी भेरोसिलको पहिलो मात्रा लगाउने ४६ हजार ५०० रहेकामा ४६ हजार ९६० ले दोस्रो मात्रा लगाइसकेका छन् । अन्यत्र पहिलो मात्रा लगाएका ४६० जनालाई जिल्लामै दोस्रो मात्रा लगाइएको थियो ।

कोभिशिल्ड लगाएकालाई पाँच महिनापछि दोस्रो मात्रा दिँइदै
जिल्लामा गत वर्ष फागुन अन्तिम साता कोभिशिल्डको पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउन बाँकी ३२ हजार जनालाई पाँच महिनापछि खोप दिन लागिएको छ ।

कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष उमेर र सो भन्दा माथिको उमेर समूह लगायत लक्षित वर्गलाई अस्ट्राजेनिका खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।

यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको खोप कार्डका आधारमा आगामी सातादेखी अस्ट्राजेनिका खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख आचार्यले भन्नुभयो,“हामीलाई अस्ट्राजेनिकाको ३२ हजार मात्रा खोप प्राप्त भइसकेको छ । अहिले भेरोसिलको दोस्रो डोज लगाउने कार्यक्रम चलिरहेकाले केही दिनमै कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो डोज दिन शुरु गर्दछौँँ ।”

Comments
Loading...