हिमाली आवाज । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आजदेखी पोखरामा बन्द प्रशिक्षण(क्लोज क्याम्प) शुरु गरेको छ ।
गत मङ्गलबार साँझ पोखरा आएको टोली दुई दिन होटलमा सामान्य अभ्यास र आरामपछि आज साँझ ४ः०० बजेदेखी पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा अभ्यासमा सहभागि भएको कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले शुक्रबारदेखी साँझ र विहान गरेर रङ्गशालामा प्रशिक्षण गर्नेछ ।
आगामी अक्टोबर १ देखी १३ तारिखसम्म माल्दिभ्समा तय भएको दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता ‘साफ च्याम्पियनसीप’को तयारीमा रहेको नेपाली टोलीले कम्तिमा दुई साता पोखरामा प्रशिक्षण गर्ने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।
यसैगरी टोलीले आगामी सेप्टेम्वर २ र ५ तारिखमा छिमेकी मुलुक भारतको राष्ट्रिय फुटबल टोलीसँग काठमाडौँमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
पोखरा रङ्गशाला सहित सहारा फुटबल एकेडेमीको खेल मैदान र विजयपुरस्थित सेनाको मैदानमा टोलीले अभ्यास गर्ने गुरुङले जानकारी दिनुभयो ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३७ खेलाडी रहेका छन् । राष्ट्रिय टोलीलाई प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, सहायक प्रशिक्षण किरण श्रेष्ठ लगायतले प्रशिक्षण गराउनुहुने जनाइएको छ ।
राजधानी बाहिर पर्यटकीय शहर पोखरामा सञ्चालित बन्द प्रशिक्षणले आसन्न प्रतियोगिताका लागि खेलाडीलाई शारीरिक र मानसिक रुपमा तयार बनाउने विश्वास लिइको एन्फाले जनाएको छ ।