पोखराको गण्डकी विश्वविद्यालयमा स्नातक तहमा अब खेलकूदको अध्यापन हुने

–कृष्ण दवाडी
हिमाली आवाज । खेलकूद पर्यटनको शहरका रुपमा स्थापित हुँदै गएको पोखरामा खेलकूद विषयको समेत अब अध्यापन हुने भएको छ ।
गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यसवर्षदेखी नेपालमै पहिलो पटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(विएसएम)को अध्यापन शुरु गर्न लागिएको हो ।

विश्वविद्यालयले खेलकूद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ । यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्य सहित दुई वर्ष अघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखी विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो । एिसएम सहित यस वर्षदेखी ब्याचलर इन इन्फरमेशन टेक्नोलोजि(बिआइटी)को पनि अध्यापन शुरु हुनेछ ।

देशमै पहिलोपटक स्नातक तहमा विएसएमको चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीहरुलाई खेलकूदका सैद्धान्तिक विषयासँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने विश्वविद्यालयका उपकूलपति प्रोफेसर डा नवराज देवकोटाले बताउनुभयो ।उहाँका अनुसार अधिकाँस कोर्ष अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर बनाइएको छ । पाठ्क्रमममा १० देखी १२ वटा खेलका विषयमा सैद्धान्तिक अध्ययापन समेत हुने बताइन्छ ।

“नेपालमा अहिलेसम्म स्पोर्टसमा युवाहरुलाई आकर्षण गर्ने कार्यक्रम देशका कुनै पनि विश्वविद्यालयमा नरहेकाले नयाँ सन्देश दिने गरी हामीले शुरुआत गरेका हौँ ।”उपकूलपति देवकोटाले भन्नुभयो,“अध्यापनको मुख्य उद्धेश्य युवाहरुलाई खेलकूद व्यवस्थापक, म्यानेजर, प्रशिक्षक, रेफ्रि सहित खेलकूद कार्यक्रम सञ्चालनमा सक्षम बनाउनुसँगसँगै खेलाडी बन्न समेत सघाउने छ ।”

आठ सेमेष्टरमा सञ्चालन हुने कोर्षमा भलिवल, फुटबल, तेक्वान्दो, कराते, ह्याण्डबल, एथ्लेटिक्स, जिम्न्याष्टिक, बास्केटबल, आर्चरी, ठेलो, क्रिकेट र स्विमिङलाई समावेश गरिएको छ ।यसैगरी खेलकूद मार्केटिङ, खेलकूद अर्थतन्त्र, ‘फन्डिङ इन स्पोर्टस’, ‘स्पोर्टस टुरिजम’, ‘स्पोर्टस इन ग्लोवलाइजेशन’, ‘स्पोर्टस इन मिडिया’, ‘स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्टस इन्डष्ट्रिज’, ‘एथलेटिक्स केयर एण्ड रिह्याविलिटेसन’ लगायतका विषय पाठ्यक्रममा राखिएको छ ।

स्नातक तहमा खेलकूद विषयको अध्यापनबाट एक सक्षम खेल प्रशासक र खेल व्यवस्थापक बन्नका लागि विद्यार्थीहरुलाई पर्याप्त ज्ञान प्राप्त गर्ने विश्वास लिइएको छ । गण्डकी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले नेपालको खेलकूद विकासका लागि यस कार्यक्रम कोशे ढुँगा बन्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,“खेलकूदमा भबिष्य खोज्नेहरुको लागि गण्डकी प्रदेशले एउटा सुनौंलो ढोका खोलिदिएको छ । खेलकूदको प्रचुर सम्भावना भएको पोखरामा यस विषयको पढाईले खेलकूद व्यवस्थापन र खेलकूदमा दक्ष जनशक्ति उत्पादनमा सघाउने छ ।”

स्नातक तहमा चार वर्षे विएसएम कार्यक्रमको शुल्क तीन लाख ९५  हजार रहेकामा विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ । पहिलो वर्ष ५० जना विद्यार्थी कोटा रहेको र दशैँ अघि कक्षा सञ्चालनको तयारी छ ।स्नातक तहमा चार वर्षे कोर्ष पूरा भएपछि स्नातकोत्तर तहमा पनि खेलकूद विज्ञानका विषयमा अध्यापन गरिने छ ।

नेपालको संविधानले उच्च शिक्षाको व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिएको छ । यसैगरी माध्यमिक तहसम्मको शिक्षाको अधिकारी स्थानीय तहलाई छ ।

Comments
Loading...