पोखरामा स्थानीयले रु ३७ लाख जुटाएर प्रहरीका लागि भवन बनाए

हिमाली आवाज । नागरिकस्तरबाट सहयोग रकम सङ्कलन गरेर पोखरा महानगरपालिका–३ नदीपुरमा अस्थायी प्रहरी पोष्टको नयाँ भवन निर्माण गरिएको छ ।

करीव ४० वर्षअघि स्थापना गरिएको सो प्रहरी पोष्ट जस्तापाताले छाएको एउटा सानो कोठाबाट सञ्चालन हुँदै आएकामा नागरिक तथा सङ्घ संस्थाको सहयोगमा आर्थिक सहयोग सङ्कलन गरेर पक्की भवन निर्माण गरिएको हो ।

कोठा अभावमा सेवाग्राहीलाई आफ्नै बेडमा राखेर समेत सेवा प्रवाह गर्नुपर्ने अवस्था विगतमा रहेकामा अहिले पक्की भवन बनेपछि प्रहरीलाई सहज भएको अस्थायी प्रहरी पोष्टका प्रमुख एवं प्रहरी हवल्दार गौतम श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पाँच जना प्रहरी कर्मचारी सुत्ने, सेवाग्राहीलाई सेवा दिने समेत एउटै कोठाबाट गर्नुपर्ने बाध्यता थियो । कानून विपरितका गतिविधि गर्नेलाई नियन्त्रणमा लिएपनि राख्ने कोठा थिएन । सडक र चौतारामा राखेर सोधपुछ गर्नुपर्ने अवस्थामा अहिले भवन बनेपछि प्रहरी सहित सेवाग्राहीलाई पनि सुविधा भएको छ ।”

हाल निर्माण गरिएको भवनमा तल्लो र माथिल्लो तलामा गरी छ कोठा छन् । कार्यालय प्रमुख, अन्य प्रहरी कर्मचारी तथा सेवाग्राहीका लागि छुट्टाछुट्टै कोठा रहेको श्रेष्ठले बताउनुभयो ।

गत फागुनदेखी अस्थायी प्रहरी पोष्टको भवन निर्माण शुरु गरिएको थियो । वडावासी नागरिक तथा सङ्घ संस्थाबाट रु ३७ लाख सहयोग रकम सङ्कलन गरिएको र रु ३४ लाखमा विट निर्माण गरिएको निर्माण समितिका सचिव सनकमान सिकेले बताउनुभयो ।

बचत रकम रु तीन लाखले सडक पेटीमा रेलिङ निर्माण,शिलालेख र चौतारी पुनःनिर्माणमा खर्च गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“प्रहरीका लागि निर्माण गरिएको भवन नहरको मापदण्डभित्र परेपनि अन्यत्र जमिन प्राप्त हुन नसकेको र प्रहरीले भोग्दै आएको दुःख कष्ट समाधान गर्न नयाँ भवन निर्माण गरिएको हो । सबैबाट सहयोग जुटाएर भवन निर्माण सम्पन्न गर्न पाउँदा खुःशी लागेको छ ।”

नवर्निमित प्रहरी पोष्टको आज सोही वडाका वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले प्रहरी पोष्टको उद्घाटन गर्दै जनताको शान्ति सुरक्षा र प्रभावकारी सेवा प्रवाहका लागि सहयोग पुग्ने बताउनुभयो ।

अर्थ संकलन समितिका संयोजक भास्करध्वज श्रेष्ठले प्रहरी भवन निर्माणका लागि वडावासी बाहेक अन्यत्रका नागरिकबाट समेत उत्साहजनक रुपमा सहयोग प्राप्त भएको बताउनुभयो ।

पोखराको मुख्य बजार महेन्द्रपुलदेखी उत्तर लामाचौर जाने सडक खण्डमा रहेको सो प्रहरी पोष्टले वडामा शान्ति सुरक्षा कायम गर्नुका दुर्घटना न्यूनीकरणका लागि समेत कार्य गर्दै आएको छ ।

 

Comments
Loading...