खेलाडीमैत्री कानुन बनाउँछौँ : कानुन मन्त्री थापा

हिमाली आवाज । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलाडीमैत्री कानुन बनाउने बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानुन आवश्यक रहेको बताउनुभयो । हालसालै जापानमा भएको ओलम्पिक खेलकुदमा ५ जना खेलाडीका पछाडि २५ प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गर्दै उहाँले छिट्टै गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको समेत जानकारी दिनुभयो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेल क्षेत्रभित्रको विकृति विसंगतिविरुद्ध लोकतान्त्रिक खेलकुद कडारुपमा प्रस्तुत हुने बताउनुभयो । उहाँले खेल क्षेत्रको एकाधिकार तोडेर खेलाडीमैत्री बनाउन लाग्ने बताउनुभयो ।

लोकतान्त्रिक खेलकुद संघ गण्डकी अध्यक्ष हरिश्चन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, काँग्रेस क्षेत्र नम्वर १ का सभापति बृजमान गुरुङ,पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछाने, संघका उपाध्यक्ष विद्या मरासिनी, प्रदेशका सहसचिव हरि खनाल लगायतले बोल्नुभएको थियो ।

संघको स्थापना दिवसको अवसरमा रचनात्मक काम गरौ भन्ने योजना अनुसार रंगशालामा बृक्षारोपण गरेको गण्डकी अध्यक्ष ्र पोखरेलले बताउनुभयो । रंगशालालाई हरियाली बनाउदै खेलाडीहरुलाई खेलेर छहारीमा थकाई मार्न पनि वृक्षारोपणको भूमिका अहम रहेको उहाँको भनाई छ ।

पोखरा रंगशालामा भएको वृक्षरोपणमा विभिन्न जातका ७५ बिरुवा रोपिएको थियो । लोकतान्त्रिक खेलकुद संघ गण्डकीमा नयाँ नेतृत्व आइसकेपछि वृक्षरोपणसँगै जिल्लाका अध्यक्षहरुसँग अन्तक्र्रिया गरिएको थियो । नयाँ खेलाडी उत्पादनका लागि खेललाई जिल्लाजिल्लामा कसरी बिस्तार गर्ने भन्नेबारेमा समेत छलफल भएको थियो ।

Comments
Loading...