माओवादी केन्द्र गण्डकीको इन्चार्जमा पाण्डे

हिमाली आवाज । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । आज सम्पन्न स्थायी कमिटीको बैठकले प्रदेश नं १ बाहेक छ वटा प्रदेशमा इन्चार्ज तोकेको हो । गण्डकी प्रदेशको इन्चार्जमा हितराज पाण्डेले जिम्मेवारी प्राप्त गर्नुभएको छ । पाण्डे यसअघि प्रदेश संयोजक हुनुहन्थ्यो ।

यसैगरी प्रदेश नं २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, लुम्बिनीमा चक्रपाणी खनाल,कर्णाली प्रदेशमा शक्तिबहादुर बस्नेत र सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खगराज भट्टले पाउनुभएको छ ।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ । दुई दिन बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय भएको उहाँले बताउनुभयो ।

राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर काम अगाडि बढेको जानकारी दिँदै श्रेष्ठले भन्नुभयो,‘राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्देशिका तयार पारेको छ, । त्यसलाई छिट्टै तल पठाउँछौं र त्यही आधारमा अधिवेशन हुनेछन् ।’

बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत् रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुविकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...