माधव नेपाल र महन्थ ठाकुरको दलको सनाखत,आजै दल दर्ता प्रमाणपत्र दिने तयारी

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सनाखतका लागि आज बोलाएको छ ।आयोगले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा भौतिक रूपमा उपस्थिति जनाउनुपर्ने जनाएको छ ।

संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको हो । यसलगत्तै नेता नेपाल पक्षका ९५ जना केन्द्रीय सदस्य र ३१ जनाभन्दा बढी सांसदले नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गराएका थिए ।

नेता नेपालले एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम आयोगमा पेस गरेका थिए । तर दल दर्ताको निवेदनमा हस्ताक्षर नभएकाले ७ जनाको सनाखत नहुने भएको छ ।

७ जनाको सनाखत नहुने भएपनि माधव नेपाललाई दल दर्ताका लागि संख्या पुग्ने छ । ४१ जना सदस्यको खनाखत भए नेकपा (एकीकृत समाजवादी) दर्ता हुने सक्ने देखिन्छ ।

यस्तै जनता समाजवादी पार्टी विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन भएको हो । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोसपा नेपाल दल दर्ताका लागि भदौ ४ गते शुक्रबार आयोगमा निवेदन दर्ता भएको थियो ।

दुबै दललाई आयोगले आजनै दर्ता प्रमाणपत्र दिने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालको दल दर्ता भएलगत्तै मन्त्रिपरिषद् विस्तार तयारी समेत गर्नुभएको छ ।

Comments
Loading...