नेपालमा दैनिक तीन लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताउनुभएको छ ।

सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताउनुभयो । प्रतिनिधि सभा शिक्षा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारले खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

श्रेष्ठले स्वास्थ्य क्षेत्रमा हाल २० हजार जनशक्ति कम भएको उल्लेख गर्दै यसलाई पूर्ति गर्दा कोरोनाविरुद्ध लड्न सहज हुने बताउनुभयो ।  बैठकमा अधिकांश सांसदले विद्यालय सञ्चालन गर्नका लागि छिटै खोपको व्यवस्था गर्न आग्रह गरेका थिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले सङ्क्रमण बढिरहेकोले यसको नियन्त्रणका लागि लाग्नुपर्ने बताउनुभयो ।

अहिले विद्यालय खोल्न हतार गर्न नहुने भन्दै उहाँल बालबालिकाका लागि खोप आई नसकेकोले विद्यालय खोल्न हतार गर्न नहुने उल्लेख गर्नुभयो । विश्वमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मात्र कोरोनाविरुद्धको खोप दिइएको उल्लेख गर्दै  उक्त समूहका लागि फाइजर र मोर्डनासँग छलफल भइरहेको जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Comments
Loading...