धम्पुसको पृथ्वी नारायण माविमा होटल म्यानेजमेन्ट अध्यापनको तयारी, पूर्वाधारका लागि दुई करोडको अक्षयकोष

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुसमा अवस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयमा दश जोड दुईमा पर्यटनसँग सम्वन्धित होटल म्यानेजमेन्ट विषयको पढाई सञ्चालन गरिने भएको छ ।

पर्यटकीय गाउँका रुपमा स्वदेश तथा विदेशमा प्रख्यात धम्पुसमा समयानुकुल र स्थान अनुकुल शिक्षा दिने लक्ष्य विद्यालयले राखेको छ ।
विद्यालयले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय अध्यापन तथा विद्यालयको शैक्षिक सुधारको योजना सहित आवश्यक पूर्वाधार निर्माणका लागि अक्षयकोष निर्माण शुरु गरेको अक्षय कोष निर्माण समितिका संयोजक यदुनाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल विद्यालयमा कक्षा ११ र १२ मा शिक्षा विषयको अध्यापन भएकामा प्राविधिक र रोजगारमुलक शिक्षा गाउँमै दिने उद्धेश्यले होटल म्यानेजमेन्ट विषय अध्यापन गर्न लागिएको हो ।होटल म्यानेजमेन्टका सञ्चालनका लागि आवश्यक पूर्वाधार,ल्याब, रेष्टुरेन्ट, किचन लगायतका पूर्वाधार तयार गरी एक वर्ष भित्रमा कक्षा सञ्चालनको योजना रहेको अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ समाज रुपान्तरण र समृद्धिको मुल आधारको रुपमा रहेको शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै गाउँमै रोजगारमुलक शिक्षा दिने लक्ष्य सहित होटल म्यानेजमेन्ट विषयको अध्यापनका लागि हामी अघि बढेका छौँ ।”विद्यालयले रु दुई करोडसम्म अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ । अक्षयकोषबाट प्राप्त हुने ब्याजले शैक्षिक पूर्वाधार सहित दुई वटा बसको व्यवस्था गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक तिलक तिमिल्सिनाले बताउनुभयो ।

खानी गाउँ र फेदीसम्म विद्यालयको बस सञ्चालन हुनेछ । पृथ्वी नारायण मावि सहित गाउँका अन्य विद्यालयको समेत शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।अक्षयकोषका लागि हालसम्म रु २५ लाख हाराहारीमा रकम संकलन भएको संयोजक अधिकारीले जानकारी दिनुभयो । पूर्व विद्यार्थी मञ्च,विद्यालय व्यवस्थापन समिति,अभिभावक र विद्यालय प्रशासन अक्षयकोषमा रकम संकलनमा जुटेका छन् ।

अक्षयकोष संकलन समितिका संयोजक अधिकारीले गाउँको शिक्षा विकास तथा सुधारको योजनामा साथ र सहयोग गर्न आग्रह गर्नुभएको छ ।
“पृथ्वी नारायण माविमा रोजगार मुलक शिक्षा सञ्चालन गर्नु यस क्षेत्रकै गौरवको विषय हो । शैक्षिक सुधार र समयानुकुल शिक्षाका लागि हामीले गरेको प्रयासमा सबैबाट साथ र सहयोगको अपेक्षा गरेका छौँ ।”अधिकारीले भन्नुभयो ।

पृथ्वीनारायण माविमा हाल कक्षा १२ सम्म २६० विद्यार्थी अध्ययनरत रहेको प्रध्यानाध्यापक तिमिल्सिनाले जानकारी दिनुभयो ।

Comments
Loading...