माओवादी अब देशको पहिलो पार्टी बन्छ : अध्यक्ष प्रचण्ड

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समिक्षा सहित रुपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै पुनः देशको पहिलो पार्टी बनाउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो,“ जनताले विसं २०६४ को भन्दा धेरै मत दिएर विजयी गराउन चाहेका छन् । वडा देखि केन्द्रसम्म एकतावद्ध भएर जनतामा जाँदा पार्टीको जित सुनिश्चित छ, देशलाई राम्रोसँग अघि बढाउन समेत माओवादीले जित्नुको विकल्प छैन ।”

माओवादी जहिलेपनि उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका पक्षमा रहेकाले माओवादीको तुलना अन्य पार्टीसँग हुन नसक्ने भनाई अध्यक्ष प्रचण्डको छ ।जनताले एमसीसि नरुचाएको भन्दै यथास्थितिमा पारित हुने अवस्था नरहेको र यसलाई पुर्नःपरिभासित गर्नुपर्ने पक्षमा माओवादी रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“यथास्थितिमा एमसीसि पारित हुने स्थिति बन्दैन, उठेका प्रश्नको ‘सोलुशन’ गरेर मात्र यसका बारेमा सोच्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु, एमसीसिका कारण अहिलेको पाँच दलीय गठबन्धन टुट्दैन, प्रभाव पनि पार्दैन ।”बाग्मती प्रदेश र प्रदेश नं १ मा पनि अबको हप्ता दश दिनभित्रमा गठबन्धनको सरकार बन्ने जानकारी उहाँले दिनुभयो ।

पार्टी स्थायी समितिका सदस्य नारायणकाजी श्रेष्ठले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्दा जित सुनिश्चित हुने बताउनुभयो ।पार्टी प्रदेश समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य हरि अधिकारी(कुमार)ले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पार्टी सदस्यता नविकरण लगायतका सङ्गठनात्मक गतिविधि अघि बढाइएको जानकारी दिनुभयो ।

केन्द्रीय समितिबाट पारित सङ्गठनात्मक कार्यहरु तोकिएको समयभित्रै भइरहेको बताउँदै उहाँले जनवर्गीय सङ्गठनका कामहरुलाई समेत छिट्टै शुरु गरिने जानकारी दिनुभयो ।

Comments
Loading...