मर्दी हिमाल ट्रेकमा आन्तरिक पर्यटकको चहलपहल शुरु, पर्यटन व्यवसायीमा उत्साह

–कृष्ण दवाडी
हिमाली आवाज । पदयात्रा पर्यटनमा ख्याती कमाएको कास्कीमा अवस्थित मर्दी हिमाल ट्रेकमा आन्तरिक पर्यटक पुग्न थालेपछि पर्यटन व्यवसायीमा उत्साह बढेको छ ।कोरोना भाइरसका कारण शिथिल बनेको यस पर्यटनमार्गमा पछिल्ला दिनमा दैनिक आन्तरिक पर्यटक आउन सुरु गरेको त्यस क्षेत्रका व्यवसायी बताउँछन् । विदेशी पर्यटकले पनि सोधीखोजी शुरु गरेका छन् ।

कोभिड अघिको अवस्थामा यहाँको पयर्टन फर्किन समय लाग्ने भएपनि स्वदेशी पदयात्रीको चहलपहल शुरु भएकाले आशा जगाएको छ ।
मर्दी ट्रेकमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी सुदीप गौतमले अहिले पदयात्रामा आन्तरिक पर्यटकहरु आउन सुरु गरेको बताउनुभयो ।

“नेपालीहरु हिँडन् थालेका छन् । विदेशीको पनि इन्क्वारी आउन थालेको छ । ”गौतमले भन्नुभयो,“दिनमा १५÷२० जना नेपाली पर्यटक आएबाट पर्यटनमा सकारात्मक सञ्चार भएको छ ।” दशैँको बिदा शुरु भएलगत्तै थप पर्यटक आवागमन हुने ठानिएको छ ।

सरकारले आगामी फागुनसम्म सबैलाई कोरोना खोप दिने बताएको र अहिलेपनि केहीले खोप पाइसकेकाले मर्दी क्षेत्रको पर्यटन विस्तारै पहिलाकै अवस्थामा फर्किनेमा आशावादी रहेको उहाँ बताउनुहुन्छ । मर्दी पदयात्राका धम्पुस, अष्ट्रेलियन क्याम्प, पोथना, हाइक्याम्प, लो क्याम्पका होटल तथा रेष्टुरेण्टहरु समेत अहिले खुलेका छन् ।

होटलमा आउने पर्यटकका लागि स्वास्थ्य मापदण्ड पालना गराउने गरिएको गौतमले बताउनुभयो । विदेशी पर्यटक आउन समय लाग्ने भएकाले आन्तरिक पर्यटकमै अझै केही महिना पर्यटन निर्भर हुने बताइन्छ ।

विशेषगरी दशैँको आसपासमा यस क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । विगतमा वर्षहरुमा विदेशी पर्यटक उल्लेख्य हुने गरेपनि दुई वर्ष यता विदेशीको आगमन ठप्प छ ।छोटो अवधिमा नजिकबाट हिमश्रृङ्खलाको अवलोकन मर्दी पदयात्राको आकर्षण हो । पदयात्रीहरु मौसमनुसारका फूल फुल्ने हरियालीसँग यात्राका क्रममा आनन्दित हुने गर्दछन् ।

गत वर्ष दशैँ तिहारमा पर्यटकको घुँइचो भएपछि कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रामा आउने पर्यटकसँग पिसिआर रिपोर्ट अनिवार्य गरिएपछि पर्यटक घटेका थिए । पछि निषेधाज्ञा जारी भएपछि सबै होटल बन्द गरिएका थिए ।
मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले सो क्षेत्रका पर्यटन व्यवसायीहरुलाई कोभिड विरुद्धको खोपका लागि जिल्ला प्रशासन तथा गाउँपालिकासँग पहल गरिएको बताउनुभयो ।

स्वदेशी विदेशी पर्यटकको चहलपहल सुरु भएसँगै आफूहरु पनि खोप लगाएर निर्धक्कका साथ पर्यटकलाई स्वागत गर्न चाहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“ कोभिडले दुई वर्ष हामी मारमा प¥र्योँ । अहिले सरोकारवाला सबैसँग सल्लाह गरेर होटल व्यवसाय खोलेका छौँ । खोप लगाएर ढुक्क भएर पर्यटकको स्वागत गर्न चाहेका छौँ । अबको पालोमा खोपको व्यवस्था हुुन्छ भनेर आश्वासन आएका छौँ ।”
अहिले पानी पर्न विस्तारै कम हुँदै गएर मौसम खुल्दै गएकाले समेत हिमालको सुन्दरता र गाउँ ठाउँको हरियालीले पर्यटकलाई स्वागत गरिरहेको गुरुङ बताउनुहुन्छ ।

मर्दी पदयात्रामा जानेहरु पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने गर्दछन् ।

पोखराबाट जीपमा माछापुच्छ«े गाउँपालिकाको सिदिङसम्म पुगेर त्यहाबाट समेत मर्दी हिमाल पुग्न सकिन्छ । पछिल्लो समय पोखरा–२५ को मेलबोटदेखीनै पदयात्रा शुरु गर्ने गरी नयाँ पदयात्रामार्गको खोजी गरेर पैदलमार्ग निर्माण गरिएको हो ।

Comments
Loading...