लामो दूरीका सवारीसाधनको असोज ११ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौँ । उपत्यकाबाट बाहिरिनेहरूका लागि यही असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ ।

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दसैँको अग्रिम टिकट खोल्नुपर्ने बताउँदै आएका थिए ।

भोलि (शुक्रवार) सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भए पनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जबाफदेही आफूहरू नहुने पनि स्पष्ट पार्नुभयो ।

महासङ्घले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

Comments
Loading...