माछापुच्छ्रेमा अनेमसंघको भेला : दवाडीको संयोजकत्वमा पालिका कमिटी गठन

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अखिल नेपाल महिला संघ(अनेमसंघ)को पालिका कमिटी गठन गरिएको छ ।

शनिबार सम्पन्न भेलाले कृष्णकुमारी पौडेल दवाडीको संयोजकत्वमा २८ सदस्सीय पालिकाका कमिटी गठन गरेको हो । संयोजक दवाडी गाउँपालिकाको उपाध्यक्ष समेत हुनुहुन्छ । यसैगरी भेलाले सहसंयोजकमा हिरादेवी सुनार र सचिवमा शान्ति भुजेललाई सर्वसम्मत चयन गरेको छ । कमिटीमा सात सदस्य थप गरेर ३५ सदस्सीय बनाइने संयोजक दवाडीले हिमाली आवाज डटकमलाई जानकारी दिनुभयो ।

भेलाका प्रमुख अतिथि अनेमसंघ कास्की जिल्ला इन्चार्ज एवं पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले लामो लँडाई र संघर्षबाट प्राप्त महिला अधिकारलाई संस्थागत गर्नका लागि सबै महिलाहरु अनेमसंघको छाताभित्र गोलबन्द हुनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं गाउँपालिका अध्यक्ष जगन्नाथ बास्तोला, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, अनेमसंघ माछापुच्छ्रे गाउँपालिका इन्चार्ज उमा कोइराला, अनेमसंघका जिल्ला संयोजक सुशिला पराजुली, अनेमसंघका केन्द्रीय सदस्य कृष्णकुमारी श्रेष्ठ, एमाले जिल्ला कमिटी सदस्यद्धय विष्णु केसी, बुद्धिबहादुर मिजार लगायतले भेला सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तदर्थ कमिटीका संयोजक कृष्णकुमारी दवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत गाउँ कमिटी सदस्य हिरा सुनारले गर्नुभएकोमा कार्यक्रम सञ्चालन अनेमसंघका सदस्य भगवती गर्नुभएको थियो ।

Comments
Loading...