इन्जिीनियर खिमलाल गौतमलाई नागरिक सम्मान

हिमाली आवाज । सरकारद्धारा गठित फेवातालको चार किल्ला निर्धारण सीमाङ्कन तथा नक्साङ्कन समितिका सदस्य सचिव इन्जिीनियर खिमलाल गौतमलाई आज पोखरामा नागरिक संघ संस्थाले सम्मान गरेका छन् ।

जिल्ला नापी कार्यालय कास्कीको प्रमुख समेत रहनुभएका गौतम कार्यालयबाट सरुवा भई जाने भएपछि पोखराका कार्यरत रहँदा उहाँले फेवातालको नक्सांकन तथा सीमाङ्कन लगायतका महत्वपूर्ण कामका लागि उहाँलाई नागरिक समाज कास्की,रत्न मन्दिर फेवाताल सरोकार समिति र वातावरण संरक्षणका लागि महाअभियान कास्कीले कदरपत्र सहित सम्मान गरेका हुन् ।कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव डा दामोदर रेग्मीले इन्जिीनियर खिमलाल गौतमलाई सम्मान गर्नुभयो ।

गौतम विसं २०७५ मंसिर २० गते गौतम नापी कार्यालय कास्कीमा हाजिर हुनुभएको थियो । आफू कार्यलय प्रमुखमा आएलगत्तै उहाँले जग्गा प्रशासनमा विचौलियाको अन्त्य गर्नका लागि मोवाइल एप्लिकेशन नेपालमै पहिलोपटक शुरुआत गर्नुभएको थियो ।

त्यसैगरी उहाँले सगरमाथको उचाइका लागि चुचुरोमा पुग्ने कामको नेतृत्व समेत गर्नुभयो । पछिल्लो पटक बहुचर्चित फेवातालको चार किल्ला निर्धारण, सीमांकन र नक्सांकन समितिको सदस्य सचिव भएर उहाँले महत्वपूर्ण प्राविधिक कार्य गर्नुभएको थियो । सो समितिले अघिल्लो महिना नेपाल सरकारलाई प्रतिवेदन बुझाइ सकेको छ ।

कार्यक्रममा गौतमले नागरिकबाट पाएको मायाले आफूलाई हर्ष विभोर भएको बताउनुभयो । निजामती सेवामा सरुवा बढुवा सामान्य प्रक्रिया भएको भन्दै उहाँले नागरिक अभियानमा आफूँ सदैव क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,“मेरो घर यही कास्की लामाचौरमा हो । बुबा आमा सबै यहीँ हुनुहुन्छ । सरुवा भएर गएपनि म सँधै यहीँनै रहने छु । यो सम्मानले हर्ष विभोर बनाएको छ । ”

प्रमुख सचिव रेग्मीले इन्जिीनियर गौतमको व्यावसायिक, सामाजिक, व्यक्तिगत र पारिवारिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नापी कार्यालयमा गुनासो नआउने गरी काम भएको बताउनुभयो ।

नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले फेवातालको चार किल्ला निर्धारण र सीमांकन समितिले बुझाएको पछिल्लो प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । कार्यक्रमा नागरिक अभियन्ताहरु शिवमाया श्रेष्ठ , शशी तुलाचन, खिमा कुमारी गुरुङ लगायतले भनाई राख्नुभएको थियो ।

Comments
Loading...