पोखराका दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा

हिमाली आवाज । आउँदै गरेको विजयादशमी,दीपावली लगायतका चाडपर्वका समयमा यात्रुहरुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्क र पोखरा–२ स्थित बाग्लुङ बसपार्कमा सहायता कक्ष सोमबारदेखी सञ्चालनमा ल्याइएको हो ।सहायता कक्षमा एक जना ट्राफिक र एक जना जनपथ गरी दुई जना प्रहरी छन् ।
कक्षबाट यात्रु तथा सर्वसाधारणका गुनासालाई सम्बोधन गर्ने, सूचना सङ्कलन गर्ने र कोभिड–१९ का बारेमा सचेतना जगाउँदै मास्क लगायताका स्वास्थ्य सामग्री वितरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमृत बस्नेतले बताउनुभयो ।

चाडपर्वका बेला अन्य समयको तुलनामा यात्रुको चाप बढी हुने, सुरक्षा चूनौती रहने र यातायात मजदुर लगायतबाट यात्रु ठगिने सम्भावना भएकाले सोको न्यूनीकरणका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो,“विशेषगरी यात्रुहरुलाई चाडपर्वका बेला आफ्नो गन्तव्यसम्म पुग्न कुनै पनि किसिमको कठिनाई नहोस् र सुरक्षा सम्बन्धी चूनौती नआहोस् भनेर सहायता कक्ष सञ्चालन गरेका हौँ ।”

चाडपर्वका बेला यातायात मजदुर तथा व्यवसायीले तोकिएको भन्दा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने तथा निर्धारित गन्तव्यमा नपु¥याई बीचबाटोमा छाडिदिने, यात्रुको सामान हराउने लगायतका गुनासा यात्रुबाट आउने गरेकाले सहायता कक्षबाट समाधान गरिने प्रहरीको भनाई छ । कक्षमा ९८५६०१८३३० नम्बरको मोवाइल फोनको व्यवस्था गरिएको छ ।

प्रहरीले विगतका वर्षहरुमा समेत दशैँदेखी छठ पर्वसम्म शहरका विभिन्न स्थानमा सहायता कक्षबाट सेवा दिने गरेको थियो । चाडपर्वलाई लक्षित गरेर जिल्लाभित्र विभिन्न १५ स्थानमा चेक प्वाइन्ट स्थापना गरिएको बस्नेतले जानकारी दिनुभयो ।

पोखरा बसपार्कबाट पूर्वमेची देखी पश्चिम महाकालीसम्म दिवा तथा रात्री सेवाका बसहरु सञ्चालन हुने गरेको छ । बाग्लुङबसपार्कबाट साविकको धौलागिरि अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङ लगायतका जिल्ला सहित ग्रामीण र छोटो दूरीमा बसहरु सञ्चालन हुने गरेको छ ।
यसैगरी पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक संकेत ज्याकेट, ट्राफिक सचेतना स्टीकर र मास्क हस्तान्तरण गरेको छ ।

एशोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले सो सामग्री ट्राफिक प्रमुख बस्नेतलाई प्रदान गर्नुभएको हो । एशोसिएसनले विगतदेखीनै ट्राफिक प्रहरीसँगको समन्वयमा पोखरामा ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको छ ।

Comments
Loading...