पोखरा विमानस्थलको ८४ प्रतिशत काम सकियो, अंग्रेजी नयाँ वर्षबाट आन्तरिक उडान थाल्ने तयारी

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का , अर्थमन्त्री रामजी प्रसाद बराल, कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पोखरा–१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको हालसम्मको कार्य प्रगतिका बारेमा निरीक्षण गरी जानकारी लिनुभएको हो ।

सो

अवसरमा पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले हालसम्म आयोजनाको ८४ प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।
गत साउनमा सम्पन्न हुनुपर्ने आयोजना कोभिड–१९ का कारण निर्धारित समयमा पूरा नभएको उहाँले बताउनुभयो । आयोजना प्रमुख मुनंकर्मीका अनुसार आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा आउने बताउनुभयो ।

विमानस्थलको दुई हजार ५०० मिटर लामो रनवे गत वर्षनै सम्पन्न भएको छ । टर्मिनल भवन एटिसी टावर, ह्याङ्गर लगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर फिनिसिङ र ईलेक्ट्रिक जडान कार्य भइरहेको छ ।

पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले २०२२ को जनबरी १ मा आन्तरिक उडान सुरु गर्ने गरी काम भइरहेको बताउनुभयो । उहाँले त्यसको १ वर्षभित्रमा अन्तराष्ट्रिय उडान गर्न सकिने भनाइ राख्नुभयो । विमानस्थलबाट हुने उडान र त्यसका लागि आवश्यक पूर्वाधारका बारेमा समेत जानकारी गराउनुभयो ।

उक्त अवसरमा कल्सल्ट्यान्स इन्जिनियर भुपेन्द्र शेरचनले पुराना खोल्साखोल्सी अतिक्रमण हुँदै गएको र पानीको व्यवस्थापन नहुँदा त्यसको चाप विमानस्थलमा परेको भनाइ राख्नुभयो ।

 

Comments
Loading...