भौतिक पूर्वाधारका कर्मचारीसँग कार्यसम्पादन सम्झौता,गुणस्तर र छबी कायम हुनेगरी काम गर्न मन्त्री खड्काको निर्देशन

हिमाली आवाज । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले संघ र प्रदेश सरकारबाट विनियोजित बजेट तथा कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्न मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

बुधबार मन्त्रालयमा आयोजित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उहाँले प्रदेशको विकास तथा पहिचानका लागि मुख्य मुख्य पुल तथा सडकलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।

चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम कार्यान्वयनका लागि सचिव रामचन्द्र श्रेष्ठले मन्त्री खड्कासँग कार्यसम्पादन सम्झौता गर्नुभयो । कार्यक्रममा ११ जिल्लाका पूर्वाधार विकास कार्यालय, ४ वटा यातायात कार्यालय, तथा कास्कीमा रहेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख, पूर्वाधार निर्देशनालय कास्कीका निर्देशकले मन्त्री खड्काको रोहबरमा सचिव श्रेष्ठसँग कार्यसम्पादन सम्झौता गरिएको थियो ।

मन्त्री खड्काले प्रदेशमा प्रदेशमा समायोजन भएका कर्मचारीहरु कम तथा अपर्याप्त भएको भन्दै प्राविधिक कर्मचारीहरु मन्त्रालयबाट यथाशक्य छिट्टै व्यवस्था गर्नेतर्फ मन्त्रालय लागिरहेको बताउँदै भन्नुभयो,‘मन्त्रालयले निर्धारण गरेको लक्ष्य प्राप्तिमा कार्यालय प्रमुखहरु लाग्नुहोला, हरेक काम कर्तव्यमा मन्त्रालयको छवि उच्च रहने गरी काम गर्नुहोला ।’

विनियोजित बजेटको परिधिमा रहेर ९० प्रतिशत भन्दा बढी प्रगति हुने गरी विकास निर्माण सम्बन्धी काम गर्ने गराउन र नयाँ आवका लागि दायित्व सिर्जना हुने गरी काम नगर्ने जसको लागि स्रोत सुनिश्चित गरेर मात्र ठेक्का व्यवस्थापन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, उपसचिव टीकाराम पौडेल, महाशाखा प्रमुखद्वय रामकुमार श्रेष्ठर राम पराजुली लगायत उपस्थित रहेको मन्त्री खड्काका निजी सचिव केदार सापकोटाले जानकारी दिनुभयो ।

Comments
Loading...